१ साउन, काठमाडौं ।बर्दियामा भूमि प्रशासनको कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा सरकारी कर्मचारीसहित ५ जना पक्राउ गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले केही कर्मचारी पक्राउ परेको र अहिले उनीहरूको स्वास्थ्य परीक्षणको काम भइरहेको जानकारी दिए ।
‘कार्यालयको सेक्युरिटी बस्ने कोठाबाट केहीलाई नियन्त्रणमा लिइएको हो,’ प्रजिअ हमालले रुपान्तरण खबर संग भने, ‘उनीहरूले मादक पदार्थ सेवन गरेको हो/होइन भन्ने पुष्टि गर्न स्वास्थ्य परीक्षणका लागि लगिएको छ।’
गोप्य सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले मादक पदार्थ सेवन गरीरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भूमि प्रशासन कार्यालय बर्दियाका खरिदार, चालक, गुलरिया नगरपालिकाले मालपोत कार्यालयमा सञ्चालन गरेको भू-सेवा कार्यालयका कर्मचारी र दुई जना महिला लेखन्दास रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक रेशम बोहराले बताए । कार्यालयमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा सेवाग्राहीले थाहा पाएपछि खबर जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए ।




























