काठमाडौँ
सत्तापक्ष कांग्रेस–एमाले र प्रतिपक्ष माओवादीले पूर्वराजा ज्ञानेन्द्र शाहले अराजक गतिविधि गरे त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
प्रमुख तीन दलका शीर्ष नेताहरूले पूर्वराजा शाहलाई ‘जबर्जस्ती गर्न खोजे सह्य नहुने’ चेतावनी दिएका हुन् । उनीहरूले पूर्वराजा शाहलाई संविधानभित्र रहन पनि आग्रह गरेका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै राजावादीले अराजकता मच्चाएर राष्ट्रिय एकतामा भाँजो हाल्न खोजेको आरोप लगाए । ‘केही तत्त्वहरू प्रणाली, संविधान होइन, हा हुका भरमा, अराजकता मच्चाएर सत्ताकब्जा गर्न खोज्दै छन् । कुन प्रणाली ल्याउन खोजेको हो, स्पष्ट छैन । यो संविधान फालेर कुन संविधान ल्याउने ? कस्तो संविधान ल्याउने ? राणाशासनतिर फर्कने ? पञ्चायततिर फर्कने ? कता फर्किने ? यो वा त्यो रूपमा जहानियाँ शासनतिर ?’ उनले प्रश्न गरे, ‘गन्तव्यहीन खालका कुराको बाढी छ । हरेक मान्छे राजा हुँ कि जस्तो कुरा गर्छन् । राजा हो कि जस्तो संविधान मान्न नपर्ने । संविधानभन्दा माथिको जस्तो कुरा गर्छन् ।’
उनले जात र धर्मका नाममा फाटो ल्याउन खोजको आरोपसमेत लगाए । ‘अनेक नाउँमा राष्ट्रिय एकता भाँजो हाल्ने प्रयास भइरहेको छ । जात, धर्म, पहिचानका नाममा होस् कि अरू नाममा होस् । विभिन्न ढंगले जनताको बीचमा फाटो ल्याउने, देशलाई अघि बढ्न नदिने नियन्त्रित अस्थिरताभित्र राख्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘दुई/चार जना जनाधार, जनसमर्थन नभएका उरन्ठेउला व्यक्तिले सञ्चालन गरेर चल्छ ? संवैधानिक बाटोबाट जानुपर्छ । लोकप्रिय छु भने ०८४ पर्खनुपर्छ ।’
तराई–मधेश जागरण अभियानका क्रममा रौतहट पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीति गर्ने भए पार्टी खोल्न पूर्वराजा शाहलाई सुझाव दिए । ‘जनताले उदारतापूर्वक कारबाही गर्नुको सट्टा आरामसित बस्न दिएको हो । उदारतालाई राजाले कमजोरी ठानेको हो भने पार्टी खोलेर चुनाव लड्न आए हुन्छ,’ उनले भने, ‘जबर्जस्ती गर्न खोजियो भने त्यो सह्य हुन्न ।’ उनले राजतन्त्र ल्याउन खोजेर ‘इतिहासको चक्का पछाडि फर्काउन सम्भव नभएको’ बताए ।
गत बिहीबार महोत्तरीमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि गणतन्त्रमा राजतन्त्रको स्थान नभएको बताएका थिए । ‘राजा स्वयं नै कारक भएर गणतन्त्र आयो,’ उनले भने, ‘राजाले सत्ता सम्हालेपछि नेताहरूलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे । ज्यादती गरेपछि गणतन्त्र आयो । गणतन्त्र स्थापना हुनुमा राजा स्वयंकारण हुन् ।’
शनिबार डोटीमा भएको पत्रकार सम्मेलनमा कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकले लोकतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको उल्लेख गर्दै सजग हुनुपर्ने बताए ।


























