काठमाडौं,
पूर्व राजा ज्ञानेन्द्र शाहकै निर्देशनमा हिंसात्मक आन्दोलन भएको ठहर गर्दै सरकारले राहदानी रद गर्ने गरी प्रकृया अघि बढाएको छ । तीनकुनेमा भएको घटनामा पूर्व राजाले नवराज सुवेदी र दुर्गा प्रसाईंलाई उक्साएर आन्दोलन गर्न लगाएको र दुई जनाको हत्या भएको विषयलाई लिएर सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी थालेको हो ।
दुई जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनामा संलग्नहरूलाई कारवाही गर्ने तथा पूर्व राजा ज्ञानेन्द्रलाई देश बाहिर जाने नदिने र खाइपाई आएको सुविधामा रोक लगाउने तयारी भएको स्रोतले दावी गरेको छ । राजावादीले आगजनी, तोडफोड र लुटपाट गरेको काठमाडौंको तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा अनुगमन गरेका छन् । गृहमन्त्री लेखक शनिबार बिहान उक्त क्षेत्रको अनुगमनमा गरेका छन् ।
दुर्गा प्रसाईं र नवराज सुवेदी लगायतले नेतृत्व गरेको राजावादीहरूलाई समूहले शुक्रबार काठमाडौंका तीनकुने, कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए । उक्त क्षेत्रको अनुगमन गर्न गृहमन्त्री लेखकसहित मन्त्रालयका उच्चपदस्थ अधिकारी पुगेका हुन् । राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।
शुक्रबार रातिको मन्त्रिपरिषद बैठकमा हिंसात्मक र आपराधिक क्रियाकलाप बारे गम्भीर रूपमा छलफल भएको थियो । शनिबार बिहानदेखि प्रहरीले प्रमाण संकलन गर्न थालिसकेको छ । प्रहरीले व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव एवं संगठित अपराधको आरोप आकर्षित हुने गरी अनुसन्धान गर्ने जनाएको छ । शुक्रबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा सरकारको विमति नभएपछि विरोध सभाका नाममा शुरु भएको तोडफोड र दुई जनाको ज्यान जाने गरी भएको हिंसात्मक गतिविधिको अनुसन्धानमा कठोर भएर प्रस्तुत निर्देशन दिएका थिए ।
























