काठमाडौँ —सत्तारुढ दल कांग्रेसले केन्द्रीय कार्यालय कोलागि सानेपामा १९ आना जग्गा र तीन तले घर किन्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो बनाउन थप जग्गा किन्न लागिएको हो ।
कार्यालयलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ कार्यालय अगाडिपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा ) जग्गा र सोही जग्गामा बनेको तीन तले घर किन्ने निर्णय गरिएको मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।
बुधबार कांग्रेसले १ वर्षभित्र पास गर्ने गरी जग्गा खरिदका लागि अमिरमान अमात्यलाई ५० लाख रुपैयाँ बैना दिइसकेको छ । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग सम्झौता भएको हो ।
घर जग्गा खरिदका लागि १३ करोड रुपैयाँ, पार्टीको विभिन्न तहको लेभी एवं शुभेच्छुकहरूको सहयोगमार्फत उठाइने पनि नेपाली कांग्रेसले बतायको छ ।

























