नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले अन्य राजनीतिक दलका नेताहरुप्रति प्रतिशोध लिने क्रम नरोकिएको बताएका छन् ।
पार्टी सम्वद्ध गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओली निरंकुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस भएको टिप्पणी गरे ।
ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट थालेको प्रतिशोधको ऋंखला काँग्रेस नेतृ एवं वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुगेको टुंगिने दाबी उनको थियो । सहकारी ठगीमा लामिछानेलाई थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ ओलीले कदम चालेको पुनले आरोप लागाए । यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुद्धा लगाएर सो पार्टी एमालेमा गाभ्ने ओलीको नियत सबैले बुझेको उनको भनाइ थियो । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन गराएर एउटा समूहलाई आफूतिर मिलाउने तयारीमा ओली रहेको दाबी पुनले गरे ।



























