९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो ।
बैठकमा विकसित राजनीतिक परिस्थितिबारे प्रचण्डले समसामयीक राजनीतिक प्रस्तावबारे छलफल गरी निर्णय लिने माओवादी केन्द्रले जनाएको छ । त्यसपछि आगामी महाधिवेशनको मिति र स्थान तय गरिने नेताहरुले बताएका छन् ।
प्रवक्ता अग्नि सापकोटाका अनुसार जेनजी युवा आन्दोलनपछि विकसित राजनीतिक परिस्थ्तििमा पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने लगायतका विषयमा छलफल हुनेछ ।
अध्यक्ष प्रचण्डले केन्द्रीय समितिसहित पार्टीका सबै कमिटी भंग गरेर आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पदाधिकारी र स्थायी समिति बैठकमा गरेका छन् । आजको केन्द्रीय समिति बैठकले त्यसबारे औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।
प्रचण्ड पक्षका नेताहरु भने महाधिवेशन आयोजक समितिको संयोजक प्रचण्ड नै हुनुपर्ने पक्षमा छन् । उपाध्यक्ष पम्फा भुसालले केन्द्रीय कमिटी बैठकले मंसिरमा विशेष महाधिवेशन गर्ने र प्रचण्ड संयोजक रहनेगरी आयोजक समिति बनाउने निर्णय हुने रुपान्तरण खबर लाई बताएकी छन् ।
प्रचण्डको प्रस्तावमा सामूहिक छलफलको तयारी
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने छन् । त्यसमा सहभागीहरुले सामूहिक छलफल गर्ने छन् ।
भौगोलिक र गैरभौगोलिक गरी १२ वटा समूहमा सदस्यहरुलाई विभाजन गर्ने तयारी छ । भौगोलिक ७, प्रवासका ३ तथा सम्पर्क विशेष र उपत्यका विशेष एक–एक प्रदेश गरी १२ प्रदेशमा सदस्यहरुलाई विभाजन गरिने छ ।
ती समूहले आ–आफ्नो टोली नेता चुन्नेछन् र टोली नेताले आफ्नो समूहमा भएको छलफलका विषयबारे बैठकमा जानकारी गराउने छन् ।
‘प्रत्येक सदस्यलाई बोल्न दिँदा बैठक लम्बिने भएकाले समूह विभाजन गरी सामूहिक छलफल गर्ने तयारी छ,’ स्रोतले भन्यो ।
प्रवेश शुल्क एक हजार
बैठकमा सहभागीहरुलाई प्रवेश शुल्कको रुपमा एक हजार रुपैयाँ तोकिएको छ ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव गणेशमान पुन रश्मीले हल भाडा, खाजा, पानी लगायतको व्यवस्थापनका लागि सहभागीहरुबाट रकम संकलन गरिने बताए । ‘त्यो भनेको एकदम न्यूनतम रकम हो,’ उनले भने ।
आज र भोलि दुई दिनसम्म बैठक बस्ने उनले बताए ।












![रास्वपाबाट समानुपातिकमा को-को सिफारिस भए ? [सूची]](https://rupantarankhabar.com/wp-content/uploads/2026/03/Screenshot_2026-03-15-19-43-59-37_40deb401b9ffe8e1df2f1cc5ba480b12-600x358.jpg)









