७ कात्तिक, काठमाडौं । विगतमा भएका कमजोरी स्वीकार्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुई महिने राष्ट्रिय जागरण अभियानमा होमिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्दै अभियानको उद्घाटन गरिएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डका अनुसार कमजोरी स्वीकार्दै नयाँ संकल्पसहित अगाडि बढ्न जनतामा जनताको कुरा सुन्न लागिएको हो ।
प्रचण्डले भनेका छन्, ‘हिजोका कमजोरी के रहे ? उपलब्धि के रहे ? त्यसको समीक्षा हुनुपर्यो । त्यो समीक्षा अब नेताहरूले मात्रै गरेर पुग्दैन । जनताको तहमा गएर जनताको आलोचना जनताकै मुखबाट गाउँ–गाउँ टोल–टोलमा पुगेर त्यो सुन्नपर्यो । त्यसलाई आत्मसाथ गर्नुपर्यो ।’
यसका साथै, देशको अगाडि देखा परेका तमाम अप्ठ्याराहरूलाई पार गर्नका लागि नयाँ संकल्पसहित अगाडि बढ्न पर्यो भनेर अभियानको सुरुआत गरिएको उनले बताएका छन् ।
दुई महिने राष्ट्रिय जागरण अभियान उद्घाटनका क्रममा नेकपाले एक अपिल पनि जारी गरेको छ ।
उक्त अपिलमा पनि जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको र पार्टीभित्र नेतामुखी तथा केन्द्रमुखी प्रवृत्ति बढेको स्वीकार गर्दै राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको उल्लेख छ ।
‘आफ्ना विगतका कामहरुको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाउनु हाम्रो दायित्व हो,’ अपिलमा भनिएको छ ।
यसका साथै, पार्टी सरकारमा रहँदा सुशासन, सामाजिक न्याय, समृद्धि र सन्तुलित परराष्ट्र सम्बन्धका पक्षमा अघि बढाइएका कामलाई निरन्तरता दिँदै जनताप्रति थप उत्तरदायी बन्न आवश्यक छ भन्ने कुरामा जोड दिन चाहेको अपलमा उल्लेख छ ।
नेकपाले शनिबारदेखि आगामी मंसिर २५ गतेसम्म सञ्चालन गर्ने अभियानमार्फत संगठन विस्तार र सुदृढीकरणसँगै जनताका समस्या बुझ्ने, पार्टीलाई रूपान्तरण गर्ने र समाजवाद निर्माणको आधार तयार पार्ने लक्ष्य लिएको छ ।
अपिलमा कम्युनिष्ट पार्टीको आधार मानिने किसान, मजदुर, श्रमजीवी, गरिब तथा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध कमजोर हुँदै गएको उल्लेख छ ।
‘जनमुखीभन्दा नेतामुखी तथा गाउँमुखीभन्दा केन्द्रमुखी प्रवृत्ति बढेको’ यथार्थ स्वीकार गर्दै जनताको जीवन र अपेक्षासँग नजोडिएको राजनीति दिगो हुन नसक्ने निष्कर्ष निकालेको छ ।
यहाँनेर पार्टीले विगतका कामको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुनुपर्ने आवश्यकता औंल्याएको हो ।
जनताको विश्वास भाषणबाट नभई व्यवहार र कामबाट आर्जन गर्नुपर्ने भन्दै प्रचण्डले नेता तथा कार्यकर्तालाई जनताका बीचमा विनम्रतापूर्वक जान, उनीहरूका कुरा सुन्न, आलोचना स्वीकार गर्न र कमजोरी सच्याउन आग्रह गरेका छन् ।
अभियानका क्रममा केन्द्रीय नेताहरूको नेतृत्वमा गाउँ, वडा र टोलसम्म पुगेर किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, अल्पसंख्यक समुदाय, बुद्धिजीवी, शिक्षक, कर्मचारी तथा उद्यमी–व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने अपिलमा उल्लेख छ ।
नेकपाले महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य तथा अनुभव संकलन गर्ने जनाएको छ । जनताका गुनासा र सुझाव सम्बन्धित सरकारी निकायसम्म पुर्याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र बुझाउने र समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी दिने पनि पार्टीको प्रतिबद्धता छ ।
‘जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु’ अभियानको उद्देश्य रहेको अपिलमा उल्लेख छ ।
नेकपाका सहसंयोजक माधवकुमार नेपालका अनुसार, अभियानकाका क्रममा जनतासँग प्रत्यक्ष संवाद हुनेछ । अभियान अन्तर्गत पार्टीका केन्द्रीय नेताहरू गाउँ, वडा र टोल–टोलमा पुगेर किसान, मजदुर, युवा, विद्यार्थी र महिला लगायतका नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको आलोचना सुन्ने कार्यतालिका छ ।
अभियानले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा, जनअधिकारको संरक्षण, सामाजिक न्याय, र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने सन्दर्भमा जागर पैदा गर्नेछ ।
सहसंयोजक नेपालका अनुसार अभियानका क्रममा जनसरोकारका मुद्दाहरू पनि उठाइनेछ ।
देशमा व्याप्त महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, आर्थिक असुरक्षा, र सार्वजनिक सेवामा हुने ढिलासुस्ती जस्ता समस्याहरूका बारेमा नागरिकबाट सुझाव तथा गुनासो संकलन गरिनेछ ।
संकलित जनसमस्याहरूलाई प्रतिवेदनका रूपमा तयार पारी सम्बन्धित सरकारी निकायहरूमा बुझाइनेछ र समाधानका लागि पहल गरिनेछ ।
अभियान अवधिभर विगतका कमजोरीहरूको आत्मसमीक्षा गर्ने, पार्टी समायोजनका बाँकी काम टुंग्याउने, सदस्यता नवीकरण गर्ने र संगठनलाई जगैदेखि सुदृढ बनाउने योजना राखिएको छ ।
साथै, नेकपाले वर्तमान सरकारबाट जनताले अपेक्षा गरेअनुसार परिणाम प्राप्त हुन नसकेको निष्कर्ष निकालेको छ । यो कुरा पनि जनताको बीचमा भन्ने उसको उदेश्य छ ।
दुईतिहाइको सरकार गठन हुँदा जनतामा ठूलो आशा र अपेक्षा रहे पनि महँगी, बेरोजगारी र युवा पलायन बढिरहेको तथा किसान, मजदुर र व्यवसायीले कठिनाइ भोगिरहेको अपिलमा उल्लेख छ ।
सरकारमाथि फरक मतप्रति असहिष्णु व्यवहार देखाएको, अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन खोजेको तथा लोकतान्त्रिक संस्था र नागरिक अधिकारमाथि हस्तक्षेप गरेको आरोप पनि नेकपाले लगाएको छ ।
नयाँ र पुरानाबीचको कृत्रिम विभाजनले सामाजिक घृणा बढाएको भन्दै पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता र संविधानका उपलब्धि संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।
यसैगरी, नेकपाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति र बेपत्ता नागरिकको खोज तथा उद्धारमा देखिएको लापरबाहीप्रति गम्भीर आपत्ति जनाएको छ ।
विपद्का बेला नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै पार्टीले उपलब्ध स्रोतसाधन, दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम परिचालन गर्न माग गरेको छ ।
विपद् प्रभावितलाई तत्काल राहत, विस्थापित परिवारलाई सुरक्षित पुन:स्थापना तथा सडक, पुल, खानेपानी, सञ्चार र विद्युत्लगायत क्षतिग्रस्त संरचनाको शीघ्र पुनर्निर्माण गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।
समग्रतामा नेकपाले आर्थिक असमानता र शोषण अन्त्य, श्रमको सम्मान तथा शिक्षा, स्वास्थ्य र रोजगारीमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्न समाजवाद निर्माणको दिशामा अघि बढ्नुपर्ने बताएको छ ।
राष्ट्रिय अर्थतन्त्रलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउन कृषि तथा उद्योगको आधुनिकीकरण, राष्ट्रिय पुँजीको विकास, रोजगारी सिर्जना र स्रोतसाधनको न्यायपूर्ण वितरणमा जोड दिइएको छ । पार्टीका नेता तथा कार्यकर्तालाई श्रम र उत्पादनमार्फत जनतासँग जोडिन पनि अपिल गरिएको छ ।
अभियानसँगै सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म पूरा गर्ने नेकपाको योजना छ ।




























