जेठ २२ मेल्लेख
मेल्लेख गाउँपालिका–७, नन्दगोडाको महरबाडा टोलमा वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र वाक नेपालको संयुक्त साझेदारीमा सञ्चालित एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजनाअन्तर्गत संचालन गरिएको जलवायु मैत्री कृषि पाठशाला सम्पन्न भएको छ।
हरियाली तरकारी उत्पादन समूह (२५ जना सहभागी) र नवाघर सेराटाेलमा रहेको अर्गानिक तरकारी उत्पादन समूह (२५ जना सहभागी) सहित दुई समूहमा कुल ५० जनाले २१ हप्ता लामो कृषि पाठशालामा नियमित सहभागिता जनाएका वाक नेपाल सामाजिक परिचालक दिपिका वडले जानकारी दिनुभएको छ। प्रारम्भमा सामान्य तरिकाले तरकारी खेती गर्दै आएका कृषकहरूले अब भने बेमौसमी तथा मौसमअनुकूल तरकारी उत्पादनमा प्राविधिक दक्षता हासिल गरेका छन्।
पाठशालापछि कृषकहरूले आफूले उत्पादन गरेका ताजा तरकारीहरू घरमै उपभोग गर्नुका साथै बालबालिकालाई नियमित रूपमा खुवाउन थालेका छन्। यसले पोषणस्तरमा उल्लेखनीय सुधार ल्याएको समुदायको भनाइ छ। यस्तै, बाँकी रहेका तरकारीहरू स्थानीय श्री पुराना कोट आधारभूत विद्यालयमा प्रदान गरिँदै आइरहेको छ, जसबाट विद्यार्थीहरूलाई पोषणयुक्त भोजन सुनिश्चित गराइएको छ।
साथै, तरकारी बिक्रीबाट आएको आम्दानीको केही अंश समुदायका ५० जना महिलाले “खुतुर्के” प्रणालीमार्फत बचत गर्न थालेका छन्। उनीहरूले आफ्ना बालबालिकाको नाममा खाता खोली सहकारीमा नियमित बचत गर्दै आएका छन्, जसले दिर्घकालीन आर्थिक सुरक्षालाई समेत टेवा पुर्याएको छ।
समुदायमै आधारित यस प्रकारको कृषि सशक्तिकरण कार्यक्रमले जीवनस्तरमा सुधार ल्याउनुका साथै पोषण, शिक्षा र आर्थिक व्यवस्थापनमा सकारात्मक प्रभाव पारिरहेको देखिएको छ।