विज्ञापन

तेन्जिङ लामाको नागरिकताको रेकर्ड भेटिएन,बाहिर देखिएको हस्ताक्षर फरेन्सिक जाँच गरिने 

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । जेनजी प्रदर्शनमा ‘टीओबी’ को टिसर्ट लगाएर पेस्तोल बोक्ने तेन्जिङ दावा लामाको नागरिकताबारे प्रहरीलाई जिल्ला प्रशासन कार्यालयले जवाफ दिएको छ । तेन्जिङले २०७९ असार २४ मा लिएको नागरिकताको विवरण पठाउन जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।

तेन्जिङको नागरिकताको विवरण नभेटिको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताए । उनले भने– ‘प्रदर्शनमा हाम्रो कार्यालय आगजनी भएको थियो, ढड्डा जलेको हुनाले विवरण फेला परेको छैन ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई ‘विवरण फेला नपरेको’ जवाफ पठाएको छ । बौद्ध बस्दै आएका तेन्जिङ दावा लामा असोज २६ मा पक्राउ परेका हुन् । तेन्जिङले काठमाडौँ महानगरपालिका–६ बौद्धमा २०६३ चैत १० मा जन्म दर्ता गरेको विवरण सार्वजनिक भएको छ । तर, त्यसदिन शनिवार भएको हुनाले कसरी जन्म दर्ता भयो भन्नेबारे प्रश्न उठेको छ । विवरण यकिन गर्न वडा कार्यालयमा पत्राचार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले  बताए ।

उनले भने– ‘वडा कार्यालयबाट विवरण आएपछि थप अनुसन्धान अघि बढाउँछौँ ।’ काठमाडौँ महानगरपालिका वडा नम्बर–६ मा पनि उनले नागरिकताको सिफारिस लिएको भेटिएको छैन । २०६४ भन्दा अगाडी जन्म दर्ता गरेको भनिएको विवरण वडा कार्यालयमा नभएको वडा अध्यक्ष भुवन लामाले बताए ।

उनले भने– ‘२०६४ भन्दा पछाडि मात्रै वडामा जन्म दर्ता गर्न थालिएको थियो, सो विवरण महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयमा हुने हुनाले मैले त्यसबारे जवाफ पठाइसकेको छु ।’

नागरिकताको सिफारिस गरेको रेकर्ड पनि वडा कार्यालयमा नभेटिएको वडा अध्यक्ष लामाले जानकारी दिए । तेन्जिङ समूहका बुलेट बाइक चढ्ने युवाहरू भदौ २३ र २४ मा भएको प्रदर्शनमा काठमाडौँको बिजुलीबजारस्थित पुलबाट प्रदर्शनमा सहभागी भएको भिडियो फुजेटमा देखिन्छ । उनीहरू सबैको ज्याकेटमा टिओबी लेखिएको थियो । टीओबीको अर्थ ‘तिब्बतियन ओरिजनल ब्लड’ हुन्छ ।

पेस्तोल कम्मरमा भिरेको भिडियो फुजेटमा देखिएपछि पक्राउ परेका तेन्जिङको घरबाट प्रहरीले नक्कली पेस्तोल बरामद गरेको छ ।

तेन्जिङले बुवाको मृत्यु भएको र आमा भारतको कुशीनगरमा बस्ने गरेको प्रहरीसँग बताएका छन् । आफ्नो एउटी बहिनी भएको उनले बताएका छन् । तर, अनुसन्धान अधिकृतहरूले बहिनीलाई सम्पर्कमा ल्याउनुभन्दा उनले ल्याउन सकेका छैनन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराई भन्छन्, ‘उहाँको यकिन पहिचान नै खुलेको छैन, परिवारका सदस्य कोही पनि सम्पर्कमा आउनुभएको छैन ।’

प्रहरीले बौद्धस्थित उनको डेराबाट बरामद गरेको पेस्तोल नक्कली भएको थाहा भएको छ । तेन्जिङले टिओबी बाइकर्स समूह भएको र आफूहरू तिब्बतियन मूलको नेपाली भएको बताएका छन् । प्रहरीको बयानमा उनले भनेका छन्, ‘म आधा तिब्बतियन हुँ ।’

उनलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीले बरामद गरेको तेन्जिङको नागरिकतामा भएको हस्ताक्षर फरेन्सिक जाँच गरिने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन