१० चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी छिन् । शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको नियुक्ति लिने र त्यही दिन शपथ समेत गर्ने तयारी छ ।
‘उहाँ अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय नआउने जानकारी गराएर अनौपचारिक रूपमा बिदाबारी हुनुभएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सम्बद्ध एक उपसचिवले भने, ‘कर्मचारीहरूले बिदाइ गर्ने प्रस्ताव गरेका थिए, तर उहाँले मलाई बिदाइ गर्नुपर्दैन, अनौपचारिक रूपमा नै जान्छु भन्नुभएको छ ।’
ती उपसचिवका अनुसार त्यसपछि प्रधानमन्त्री कार्की सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय गएकी छैनन् । कार्यालयमा रहेका उनका सामान पनि सचिवालयका कर्मचारीले लिएर गएका छन् ।सबै सामान सारियोबालुवाटारस्थित प्रधानमन्त्री निवासबाट प्रधानमन्त्री कार्कीको परिवारले आफ्नो सामान टोखास्थित निजी निवास सारिसकेको छ । केही दिनदेखि टोखास्थित कार्की निवासमा सुरक्षाकर्मीहरू राख्न आवश्यक पर्ने संरचना बनाउने गृहकार्य भइरहेको थियो ।
कार्की यसअघि पूर्वप्रधानन्यायाधीश मात्रै थिइन् । अब पूर्वप्रधानमन्त्रीका हैसियतले सुरक्षाका लागि उनको निवासमा सुरक्षाकर्मीको टोली थप्न लागिएको हो ।

























