कैलाली, असार३१— कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक बनको गाइमारे चुरे सामुदायिक वन क्षेत्रमा अतिक्रमण हटाउने अभियानका क्रममा वन कर्मचारीले सडकमा राखेको टेपो भिरबाट खसालिएको भन्ने विषय सामाजिक सञ्जालमा सार्वजनिक भएपछि डिभिजन वन कार्यालय कैलालीले प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ।
कार्यालयले जारी गरेको विज्ञप्तिमा उक्त क्षेत्र चुरे क्षेत्रअन्तर्गत पर्ने अत्यन्त संवेदनशील तथा कमजोर पर्यावरणीय प्रणाली भएको वन क्षेत्र रहेको उल्लेख गर्दै लामो समयदेखि अवैध रूपमा वन अतिक्रमण, खोका–छाप्रा निर्माण तथा सरकारी वन जमिन कब्जा गर्ने गतिविधि हुँदै आएको जनाएको छ।
विज्ञप्तिअनुसार, करिब पाँच महिनाअघि पुनः अवैध रूपमा खोका–छाप्रा निर्माण गरी व्यापार सञ्चालन गर्न खोजिएको थियो। वन प्रशासनले पटक–पटक हटाउन निर्देशन दिए पनि अटेर गरिएको र अन्य संरचनाहरू हटाइए तापनि सम्बन्धित टेपो भने नहटाइएको दाबी गरिएको छ।
वन कार्यालयका अनुसार अतिक्रमण हटाउने अभियानअन्तर्गत २०८३ असार ३० गते वन टोलीले उक्त टेपोलाई बल प्रयोग गरी हटाउने क्रममा चुरेको भौगोलिक बनावट तथा असन्तुलनका कारण टेम्पो अनियन्त्रित भई भिरतर्फ खसेको हो। सामाजिक सञ्जालमा प्रचार भएजस्तो सञ्चालन अवस्थामा रहेको सवारीसाधनलाई जानाजानी भिरबाट खसालिएको नभई अतिक्रमण हटाउने कार्यका क्रममा भएको घटना मात्र रहेको कार्यालयले स्पष्ट पारेको छ।
डिभिजन वन कार्यालय कैलालीले संरक्षणसम्बन्धी कानुनी कारबाहीलाई अतिरञ्जित ढंगले प्रचार नगर्न तथा यथार्थ तथ्य बुझेर मात्रै सूचना सम्प्रेषण गर्न सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेको छ।
कार्यालयका कर्मचारीहरूको संयुक्त हस्ताक्षरसहित जारी विज्ञप्तिमा वन क्षेत्र संरक्षण र अतिक्रमण नियन्त्रण अभियानलाई निरन्तरता दिइने उल्लेख गरिएको छ।
हेर्नुहोस प्रेष विग्यप्ति।
































