काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ का रास्वपा सांसद राजुनाथ पाण्डेले सेनाको निगरानीमा रहेको गोकर्ण वनको पर्खालमा जबरजस्ति डोजर चलाएका छन् ।आफैँ डोजर लिएर पुगेका पाण्डेले पर्खाल भत्काउने क्रममा आधिकारिक पत्र माग्ने नेपाली सेनाका अधिकृतलाई हप्कीदप्की गरेका थिए ।
गोकर्णेश्वर नगरपालिका-४ माकलबारीदेखि गोर्कण मन्दिरसम्मको करीब २०० मिटर सडक अन्तरगत नेपाली सेनाको निगरानीमा रहेको गोर्कण वनको पर्खालमा हिजो डोजर चलाइएको हो ।
यो पर्खाल भत्काउने स्थानीयको मागअनुसार नगरपालिकाले सेनासँग आवश्यक समन्वय गरिरहेको थियो । चाँडै विधिसम्मत तरिकाले नगरपालिकाले भत्काउन लागेको थाहा पाएपछि जस लिनकै लागै पाण्डे डोजर लिएर पुगेको बुझिएको छ ।
सांसद पाण्डे काठमाडौं महानगरपालिकाका पूर्व नगरप्रहरी प्रमुखसमेत हुन् । उनले सांसदको जिम्मवारी र दायरा बिर्सेर नगरप्रहरीकै शैलीमा डोजर चलाए । पर्खाल भत्काउनका लागि उनीसँग कुनै पनि लिखित आदेश थएन । नेपाली सेनाका अधिकृत अनुपमान श्रेष्ठसँग उनको लामै वादविवाद भएको थियो ।
श्रेष्ठले डोजर चलाउनका लागि वैधानिक पत्र चाहिने बताएपछि पाण्डे भन्छन्, ‘कसको चिठी चाहियो ? कोरिडोरको बाटो खोल्न कसैलाई सोध्नु पर्दैन । मलाई थाहा छ मापदण्ड ।’आफूले माथि पनि रिपोर्ट गर्नुपर्ने भएकोले एउटा चिठी चाहिने अडान श्रेष्ठले लिन्छन् ।
पाण्डे जवाफ दिन्छन्, ‘चिठी आउँदै गर्छ, पर्खाल अहिले नै भत्किन्छ । यो नेपाल ट्रस्टको चेयरमेन को हो ?’
श्रेष्ठले पर्खालभित्र सेनाको ब्यारेक रहेको तथा विभिन्न वन्यजन्तुहरुसमेत संरक्षण गरेर राखिएको अवगत गराउँछन् । तर, पाण्डे जनता भन्दा ठूलो ब्यारेक नभएको बताउँछन् ।
‘मलाई थाहा छ क्याप्टेन सा’प ब्यारेक छ भने । यो नेपाल ट्रस्टसँग सम्वन्धित विषय हो । नेपाल ट्रस्टको चेयरमेन को हो ? भौतिक पूर्वाधार मन्त्री हो । तपाईंलाई कुनै कन्फ्युजन भए सम्ममाननीय प्रधानमन्त्रीज्यूसँग सम्पर्क गर्नु होला । मैले स्पष्ट (आदेश) लिएर आएको छु । हामी पर्खाल भत्काएर मात्र जाने हो,’ पाण्डेले भने ।डोजर चल्दै गर्दा पाण्डेका कार्यकर्ताले उनको नाम लिएर जिन्दावाद भन्दै नारावाजी गरेका थिए ।
नेपाली सेनाले वन्यजन्तुको संरक्षणको लागि गोर्कणदेखि दक्षिणढोकासम्म पर्खाल लगाई वनभित्र गण नै राखेर सुरक्षा दिइरहेको थियो । वनमा मृग, जरायोलगायत जनावर रहेका छन् । उक्त वनबाट काठदाउरा चोरी निकासी हुने गरेकोमा पर्खाल लगाएपछि त्यो बन्द भएको थियो ।
यो जग्गा भने नेपाल ट्रष्टको नाममा रहेको छ । बागमती करिडोर अन्तर्गत पर्ने सडक गोर्कण पुलभन्दा माथि भौगोलिक रुपमा जटिल र साँघुरो थियो । करिडोर फराकिलो बनाउन सेनाको सुरक्षामा रहेको वन क्षेत्रको पर्खाल भत्काउनुपर्ने अनिवार्यता थियो । सडक विस्तार गरेपछि नयाँ पर्खाल लगाउन बजेट नभएको भन्दै सेनाले यसका लिग गोकर्णेश्वर नगरपालिकासँग अनुरोध गरेको थियो ।
सेना आफैले यात्रुहरुको सहजताको लागि सडक विस्तार गर्न प्रस्ताव लगेको पनि खुलेको छ । त्यसपछि नगरपालिकाले पनि सडक विस्तारको लागि प्रकियागत रुपमा काम अघि बढाएको थियो । पर्खाल सार्न सहमति उपलब्ध गराइदिनको लागि नगरपालिकाले ०८२ जेठ ४ गते नै नेपाल ट्रष्टलाई पत्र पठाएर स्वीकृत लिइसकेको थियो । पर्खाल २५ फिट सार्ने र उक्त क्षेत्रमा आफ्नै बजेटबाट सडक निर्माण गर्ने तयारी थियो गोकर्णेश्वर नगरपालिकाको ।
मापदण्ड अनुसार करिडोर बनाउन उपत्यका विकास प्राधिकरणलाई असार १ गते नगरपालिकाले चिठी पठाएको थियो ।बाटो विस्तारको लागि अनुमति समेत पाइसकेपछि नगरपालिकाले असार २२ गतेको सत्रौं नगरसभाबाट नेपाल ट्रष्टको पर्खाल निर्माण तथा बाटो स्तरोन्नतीको लागि २५ लाख बजेट छुट्याएको थियो ।
नगरपालिकाले सबै प्रकिया पूरा गरेर पानी पर्न बन्द भएपछि काम सुरु गर्ने तयारी गरेको थियो ।आज बिहान एक्कासी सांसद पाण्डेले डोजर चलाएपछि नगरप्रमुख दिपक रिसाल छक्क परेका छन् । पाण्डेले नगरपालिकासँग समन्वय नगरी एक्कासी डोजर चलाउन निर्देशन दिएको उनी बताउँछन् ।
रिसाल भन्छन्, ‘हामीले सबै प्रकिया पूरा गरेर सडक विस्तार गर्ने तयारी गरेका थियौं । सांसदज्यूले हामीले गर्ने कामको सुइको पाएर क्रेडिट लिन आफैं जानुभएछ । उहाँसँग भत्काउन निर्देशन दिने आधार केही छैन । प्रकियागत रुपमा काम भइरहेको ठाउँमा यसरी हस्तक्षेप गर्नु राम्रो होइन ।’
पाण्डे भन्छन्- नगरपालिकाले केही काम गरेको छैन
नगरपालिकासँग समन्वय नगरी आफूखुसी सडक विस्तारको लागि डोजर चलाएको आरोपको सांसद पाण्डेले खण्डन गरेका छन् । उनले उल्टै नगरप्रमुखले अहिलेसम्म केही नगरेको र जनतालाई दुख दिएको आरोप लगाए ।
नगरपालिकाबाट अहिलेसम्म एउटा सिन्को भाँच्ने काम नभएको भन्दै उनले नगरप्रमुखबाट असहयोग भएको दावीसमेत गरे ।
‘नगरपालिकाबाट हुने काम नै होइन । हुने भए यत्रो वर्ष दुख दिएर किन राख्ने थियो ?’ उनले भने ।
आफूहरुले उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सम्भ्यता एकीकृत विकास समितिसँग समन्वय गरेर काम गरेको उनको दाबी छ । डोजर पनि प्राधिकरणबाटै ल्याइएको पाण्डेले बताए ।
गोकर्णेश्वर-४ का वडाध्यक्ष जयराम महतले सांसद पाण्डेले आफूसँग समन्वय गरेको बताएका छन् । नगरपालिकासँग समन्वय गरे-नगरेको थाहा नभएको बताउँदै उनले आफूसँग समन्वय गरेर काम सुरु गरेको दावी गरे । यसको खर्च नेपालको सरकारको कुनै निकायले बेहोर्ने उनको भनाइ छ ।
समन्यव भइरहेको सेनाको भनाइ
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पर्खाल भत्काइएको विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन् ।
‘त्यस विषयमा हाम्रो तर्फबाट जसले सम्बन्धित निकायमा कुरा गर्नुपर्ने हो, उहाँहरुले कुराकानी गरिरहनुभएको छ, त्यसपछि मात्रै अन्य प्रतिक्रिया दिन सकिन्छ,’ उनले भने ।




























