काठमाडौं । बालाजु क्षेत्रका आठ विद्यालय आबद्ध बालाजु एजुकेसन फोरम (बीईएफ) को आयोजना तथा बालवाटिका पाठशालाको संयोजनमा ‘एजुकेसन सिम्पोजियम’ शैक्षिक गोष्ठी आइतबार राजधानीमा सम्पन्न एको छ।विद्यार्थीको समग्र विकास तथा प्रस्तुति कला अभिवृद्धि गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बालवाटिका पाठशालाकी शिक्षिका मञ्जु कोइरालाले बताइन्। विद्यार्थीलाई आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्न तथा अनुसन्धानमा आधारित प्रस्तुति दिन सक्षम बनाउने उद्देश्यले विगत तीन वर्षदेखि यस्तो कार्यक्रम सञ्चालन हुँदै आएको उनले जानकारी दिइन्।
गोष्ठीमा बालाजु क्षेत्रका विभिन्न आठ विद्यालयका विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए। कार्यक्रममा बालवाटिका पाठशाला, नेसनल मोडल, ब्राइट हेभेन, स्वाती सदन, त्रिलोक चिल्ड्रेन, अरुणी र निहारीका शिशु सदन विद्यालयका विद्यार्थी सहभागी थिए।
कार्यक्रममा विद्यार्थीले दृश्य, पर्यटन, शिक्षा तथा विभिन्न विषयमा अनुसन्धानमा आधारित प्रस्तुति दिएका थिए। प्रस्तुति दिने क्रममा विद्यार्थीले आफ्ना अनुभवसमेत सुनाएका थिए।
सहभागी विद्यार्थीले यस्ता कार्यक्रमले सार्वजनिक रूपमा बोल्ने डर हटाउन, आफ्ना विचार स्पष्ट रूपमा राख्न तथा आत्मविश्वास बढाउन महत्वपूर्ण सहयोग पुगेको अनुभव सुनाए। विभिन्न विद्यालयका विद्यार्थीबीच समन्वय र नयाँ सम्बन्ध विकास गर्नसमेत कार्यक्रम उपयोगी भएको उनीहरूको भनाइ थियो।
बालाजु एजुकेसन फोरमले विद्यार्थीको प्रतिभा प्रस्फुटन, प्रस्तुति क्षमता र अनुसन्धानमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने आयोजकमध्येका एक रमेश प्रसाईंले जानकारी दिए ।
कार्यक्रममा शिक्षाविद् डा हिम लाल घिमिरे, पर्यटन उद्यमी तथा सामाजिक अभियन्ता केशव पाण्डेको समेत विशेष उपस्थिति रहेको थियो । साथै सो अवसरमा निहारिका स्कुलका प्रिन्सिपल युवकराज पराजुलीसँग विशेष पोडकास्ट कार्यक्रम समेत गरिएको थियो। जसमा शिक्षा, विद्यार्थीको विकास तथा समसामयिक शैक्षिक विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको अन्त्यमा बालाजु एजुकेसन फोरममा आबद्ध सदस्य विद्यालयबाट एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने छात्र र छात्रालाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो।





























