कैलाली। सुदूरपश्चिम प्रदेश सभाका सदस्य तथा प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन् ।
जेन्जी आन्दोलनलगत्तै अघिल्लो वर्ष भदौ २८ गते उनी अमेरिका गएका थिए । छैटौँ अधिवेशनमा लगातार ५ बैठकमा अनुपस्थित भएका देउवाले चैत २३ गते प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै आफू अनुपस्थित रहेको कारणबारे जानकारी गराएका थिए ।
त्यो बेला उनले आफू व्यक्तिगत कारणले अमेरिका आएको र स्वास्थ्य परीक्षणमा रहेको हुँदा केही समय लाग्ने प्रदेश सभा सचिवालयलाई जानकारी गराएका थिए ।
‘२०८२ भाद्र २८ गते मेरो व्यक्तिगत कामको सिलसिलामा अमेरिका आएको तर केही समयपछि देखा परेको स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहअनुसार उपचार तथा विश्राममा रहनुपरेको हुँदा सो अवधिमा सञ्चालन भएका प्रदेश सभाका बैठकहरूमा उपस्थित हुन असमर्थ भएको ब्यहोरा सादर अवगत गराउँदछु,’ उनले सभामुखलाई सम्बोधन गरेर पठाएको पत्रमा भनिएको छ, ‘सोही कारणले आगामी मिति २०८२ चैत २४ मा बस्ने प्रदेश सभाको बैठकमा समेत उपस्थित हुन नसक्ने अवस्था रहेको जानकारी गराउन चाहन्छु ।’
स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्केर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता पनि उनले व्यक्त गरेका थिए, तर उक्त पत्र पठाएको चार महिनाभन्दा बढी बितिसक्दा पनि उनी नेपाल फर्किएका छैनन् ।
अहिले उनी कहाँ छन्, कहिले नेपाल फर्किन्छन् वा उपचारको अवस्था कस्तो छ भन्ने विषयमा कांग्रेसभित्र पनि स्पष्ट जानकारी छैन । कांग्रेसका अधिकांश नेताहरूले उनी उपचारकै क्रममा अमेरिकामा रहेको सुनेको भए पनि फर्किने मिति आफूहरूलाई जानकारी नभएको बताएका छन् ।
कांग्रेस प्रमुख सचेतक सरस्वती खड्का पनि अमेरिका रहेको बताउँदै फर्किने मितिबारे कुनै जानकारी नरहेको बताउँछिन् ।
‘उहाँ अहिले अमेरिका हुनुहुन्छ, कहिले फर्किनुहुन्छ त्यो विषयमा जानकारी छैन,’ प्रमुख सचेतक खड्काले नेपाल भनिन् ।
सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० अनुसार कुनै सदस्य लगातार १० वटा बैठकमा सूचनाविना अनुपस्थित रहेमा उसको पद रिक्त हुन सक्ने व्यवस्था छ । यही कानुनी प्रावधानलाई ध्यानमा राख्दै लगातार पाँच बैठकमा अनुपस्थित भएपछि देउवाले सभामुखलाई औपचारिक जानकारी गराएका थिए ।
जेनजी आन्दोलनलगत्तै अमेरिका हानिएका प्रकाश देउवा अझै फर्केनन्, संसदसँग सम्पर्कविच्छेद
त्यसपछि पनि उनी लगातार २० बैठकमा उपस्थित भएका छैनन् ।
अघिल्लो वर्ष जेठ ११ गतेदेखि सुरु भएको छैटौँ अधिवेशनमा २५ वटा बैठक बस्यो । तीमध्ये उनी ८ दिन मात्रै उपस्थित भए । त्यसपछिको सातौँ र आठौँ अधिवेशनमा उनी एक दिन पनि उपस्थित भएनन् । सातौँ अधिवेशनको पहिलो बैठकको लागि उनले पत्र पठाएको भए पनि त्यसपछिको लगातार २० बैठकमा अनुपस्थित हुँदा पनि किन कारबाही भएन त ?
सभामुख भीम भण्डारी भने यस विषयमा छलफल भइरहेको बताउँछन् ।
‘उहाँ (प्रकाश देउवा)को लगातार धेरै बैठकमा अनुपस्थिति भएको छ । कानुनअनुसार लगातार १० बैठक अनुपस्थित हुँदा पद रिक्त हुने व्यवस्था छ,’ सभामुख भण्डारीले भने, ‘यस विषयमा मैले चासो राखेको छु, केही दिनभित्रै निर्णय आउँछ ।’
सभामुख भण्डारीले आफू आन्तरिक परामर्शमा रहेको बताउँछन् ।
दोस्रो कार्यकालमा १२८ बैठक बसेका छन् । तर, देउवा सबैभन्दा कम बैठकमा उपस्थित हुने सांसद हुन् । उनी अहिलेसम्म ६० बैठकमा मात्रै उपस्थित भए । पछिल्लो २७ बैठकमा उनको हाजिरी छैन ।
११ महिनादेखि नेपालमै नरहेका देउवाको खातामा भने प्रदेश सभा सचिवालयले प्रत्येक महिना ६८ हजार ५०० रुपैयाँ हालिरहेको छ ।
यो पनि पढ्नुहोस्- ८महिनापछी अमेरिकाबाट सभामुखलाई देउवाको पत्र स्वास्थ्यका कारण बैठकमा उपस्थिति हुन सकिन ।
हाल सम्म उनले तलब भत्ता बाफतको रुपैयाँ बुझिसकेका छन् । पछिल्लो जेठमा निजी आवास मर्मतस्वरूप सचिवालयले उनको खातामा थप ३५ हजार रुपैयाँ पठाएको थियो ।
प्रदेश सभा सचिवालयले अहिले पनि पारिश्रमिकबापतको ५६ हजार ५०० रुपैयाँ, धारा-बिजुलीबापतको २ हजार रुपैयाँ, सञ्चार सुविधाको ३ हजार रुपैयाँ, अतिथि सत्कारको ७ हजार रुपैयाँ देउवाको खातामा हालिरहेको छ । आवास मर्मतको शीर्षकमा रहेको सुविधाअन्तर्गत पनि पछिल्लो जेठमा ३५ हजार रुपैयाँ उनको खातामा सचिवालयले हालेको थियो ।
अघिल्लो माघमा देउवा नेपाल नरहेको भन्दै सचिवालयले सेवा-सुविधा रोक्का गरेको थियो । तर, कानुनअनुसार पद रिक्त नहुँदासम्म रोक्न नमिल्ने भएपछि जेठमा चार महिनाको एकमुस्ट रकम सचिवालयले पठाएको थियो ।
संसदमै नरहेका देउवाका स्वकीय सचिवलाई पनि चैत महिनासम्मको पारिश्रमिक प्रदेश सभा सचिवालयले दिइसकेको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका भतिजासमेत रहेका प्रकाश देउवा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनको निर्वाचन क्षेत्रका मतदाता पनि आफ्ना निर्वाचित प्रतिनिधि लामो समयदेखि सम्पर्कविहीन हुँदा असन्तुष्ट छन् ।
एकातिर प्रदेश सभामा उपस्थित नभएका सांसदले नियमित रूपमा राज्यबाट तलब र सेवा-सुविधा पाइरहेका छन् भने अर्कोतर्फ उनी कहिले फर्किने भन्ने प्रश्न अझै अनुत्तरित छ । कानुनअनुसार उनको पद रिक्त हुने अवस्थामा रहेको हुँदा सभामुख पनि अहिले यही विषयमा आन्तरिक परामर्शमा जुटेका छन् ।




























