काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको हीरकजयन्ती मनाउन समिति बनाउन खोजेकी थिइन् ।
उनले सुरुमा एमालेका पदाधिकारीलाई संयोजक बनाउन प्रस्ताव गरे पनि अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरे !पछि जनसंगठनबाट संयोजक बनाउने उनको प्रस्ताव पनि नमानेपछि भण्डारीले डोरमणि पौडेललाई संयोजक तोकिन ।
तर, एमाले केन्द्रीय कमिटीले भण्डारीलाई सक्रिय राजनीतिबाट टाढा राख्ने निर्णय गरेपछि समितिको गति सुस्त भयो ।यद्यपि, पौडेलको नेतृत्वमा जिल्ला–जिल्लामा शाखा विस्तार हुँदैछ ।
सम्पर्क कार्यालय यही भदौ ५ गते बानेश्वरमा उद्घाटन गर्ने तयारी छ ।सोही घर सन् १९९१ (२०४८) को चुनावमा मदन र विद्याले प्रचार कार्यालयका रूपमा प्रयोग गरेका थिए ।सम्पर्क कार्यालयमा भण्डारीका लागि छुट्टै कार्यकक्ष हुने भएको छ ।
उनले यसै समितिमार्फत जिल्लास्तरीय कार्यक्रममा सहभागी हुने योजना बनाएकी छन् ।
यता, फाउन्डेसनमार्फत भण्डारी सक्रिय हुन खोजेपछि ओली असन्तुष्ट बनेका छन् ।उनले फाउन्डेसन पार्टीले नभई व्यक्तिगत पहलमा बनेको संस्था भएको बताएका छन् ।यसलाई मागी खाने भाँडो नबनाउन चेतावनी दिएका छन् ।




























