४ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार ढंगले अघि बढेको आरोप लगाएका छन् । सरकारविरुद्ध जनता विद्रोहका लागि सडकमा उत्रने तयारीमा रहेको पनि उनको दाबी छ ।
नेकपा गण्डकी प्रदेश सम्पर्क समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा पुनले दशैं, तिहार र छठपछि सरकारविरुद्ध ठूलो विद्रोह हुने बताए । विद्रोहमा उत्रिएका जनताको नेतृत्व कसरी गर्ने भन्नेबारे अहिल्यैदेखि तयारी गरिराख्न पार्टी पंक्तिलाई आग्रह गरे ।
३५ वर्षमा केही पनि भएन भनेर भ्रामक प्रचार गरेर शक्तिमा आएकाहरुले प्राकृतिक प्रकोपपछि उद्धार राहतको काममा असफल भएको तथा किसानलाई मल र आममानिसलाई ग्यास दिन नसकेको बताए । महंगीले चरम सीमा पार गर्दा सरकारको उपस्थिति नदेखिएको पुनले उल्लेख गरे ।
‘३५ वर्षमा के गरे भनेर प्रश्न गर्नेहरुको सरकारले रसुवा बाढीपछि उद्धार र राहतमा के गरे ? जनताको चुल्होमा ग्यास छैन के गरे ? किसानलाई मल छैन, के गरे ? महंगीले आकाश छोएको छ, के गरे ?’, पुनले भने, ‘यो स्वेच्छाचारी, निरंशुक र असफल सरकारविरुद्ध जनतामा व्यापक आक्रोश र निराशा बढेको छ, दशैं, तिहार र छठपछि जनता स्वत: स्फुर्त रुपमा विद्रोहका लागि सडकमा आउँछन्, हामीले त्यसको व्यवस्थापनका लागि आफूलाई तयारी अवस्थामा राख्नुपर्ने भएको छ ।’
सरकारको गलत रबैका कारण राष्ट्रियता र राष्ट्रिय स्वाधीनता कमजोर भएको भन्दै उनले स्वाधीनता बचाउन जनताले विद्रोह गर्ने समय आएको दाबी गरे ।



























