जेनजी आन्दोलनको प्रदर्शनमा घुसपैठ हुन सक्ने र ठूलो जोखिम पैदा हुनसक्ने चेतावनी दिँदै गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रदर्शन रोक्न प्रहरी अधिकारीहरुले आग्रह गरेका छन्।
प्रहरी प्रमुखसहितका अधिकारीहरूले सोमबार साँझ गृहमन्त्रीलाई भेटेर हालको अवस्थाबारे ब्रिफिङ गरेका थिए। उनीहरूका अनुसार लुटिएका प्रहरी बर्दी र हतियार अहिले पनि फिर्ता भएका छैनन्, जसले सुरक्षा चुनौती बढाएको छ।
एक अधिकारीका शब्दमा, “प्रहरीका बर्दी पनि लुटिए, हतियार पनि लुटिए, ती हतियार चलाउन जान्ने जेलबाट भागेका पेशेवर अपराधी पनि बाहिरै छन्। तिनै बर्दी र हतियार बोकेर कसैले प्रदर्शनमा गोली चलायो भने सक्कलीले हो कि नक्कलीले, छुट्याउन सकिने अवस्था छैन। त्यसैले सडक प्रदर्शन रोक्नुपर्छ।”
गृहमन्त्री अर्यालले भने जेनजी आन्दोलनलाई केवल आग्रह गरेर रोक्न नसकिने बताए। उनले भने, “२३ गतेको आन्दोलन दमन गर्ने अधिकारीहरूविरुद्ध जाहेरी नलिएसम्म उनीहरूको आक्रोश कम हुन गाह्रो छ।”
प्रहरी अधिकारीहरूले भने गृहमन्त्रीलाई कानुनी विधि अनुसार जाहेरी प्रक्रिया अघि बढाउन र गृह मन्त्रालयले शान्ति सुरक्षाको कारण देखाउँदै प्रदर्शन नगर्न आधिकारिक सूचना जारी गर्न माग गरेका छन्।
लुटिएका हतियारमध्ये करिब १२०० मध्ये तीन सय मात्र फिर्ता भएका छन्। बाँकी हतियार कहाँ छन् भन्ने अझै पत्ता लागेको छैन। प्रहरी अधिकारीहरूले भने, “यी हतियार वास्तविक जेनजीले लगेको भए अबसम्म फर्किसक्थे। तर नआएकाले ती हतियार अपराधी समूहको हातमा पर्न गए र अब ती नै हाम्रै लागि चुनौती बनेका छन्।”




























