अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
विघटित प्रतिनिधिसभामा नेकपा एमालेको प्रतिनिधित्व गर्ने गुप्ता पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री थिए तर विवाद भएपछि उनले राजीनामा दिएका थिए।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी श्रेष्ठ पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भूमि व्यवस्थामन्त्री थिइन्।
गुप्तामाथि कास्की जिल्लास्थित मालपोत कार्यालयका तात्कालिक प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौती गर्ने आश्वासन दिई घरजग्गा व्यवसायीहरूबाट घुस लिएको र ती व्यवसायीलाई भूमि आयोगको सदस्य बनाउन भन्दै फेरि घुस लिने कुराकानी गरेको अभियोग छ।
त्यस प्रक्रियामा पूर्वमन्त्री श्रेष्ठ पनि संलग्न भएको भेटिएको आयोगको अभियोगपत्रमा उल्लेख छ।
दुवैका लागि आयोगले ७८-७८ लाख रुपैयाँको बिगो कायम गरेको छ।


























