काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने विषयमा कुनै दुविधा नराख्न आग्रह गरेका छन्।
आइतबार नेपाल पत्रकार महासंघको कार्यालय सञ्चारग्राम पुगेर छलफल गर्दै मन्त्री खरेलले जेनजी आन्दोलनमा भएको घुसपैठ र त्यस क्रममा भएको तोडफोड तथा आगजनीमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
मन्त्री खरेलले फागुन २१ गते तोकिएको निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गरिने भन्दै सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे। अहिले दलहरूसँगको संवादहीनता अन्त्य भएकाले मुलुक निर्वाचनमा होमिएको उनको भनाइ छ।
उनले वर्तमान सरकारको ६ महिनाको अवधिमा जनतालाई अनुभूत गराउने गरी सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणको सुरुवाती पहल हुने जिकिर गरे। उनले मुलुक अहिले पनि ठुलो जोखिम (भ्याकुमा) मा जान सक्ने सम्भावना रहेकाले देशलाई ट्र्याकभन्दा बाहिर जान नदिन सबै गम्भीर हुनुपर्ने धारणा राखे।
मन्त्री खरेलले अनलाइन सञ्चार माध्यमहरूको सूचना विभागबाट दर्ता तथा नवीकरणको काम सम्भवतः तिहारअघि नै सुरु हुने जानकारी दिए। उनले पत्रकारहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन पनि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको उल्लेख गरे।


























