काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ कात्तिक अन्तिम साता अवकाशमा जाँदैछन् । ३० वर्षे सेवा अवधि पूरा गरेर उनी अवकाशमा जान लागेका हुन् ।
भदौ १९ देखि प्रहरी सङ्गठनको कमाण्ड सम्हालेका खापुङले आईजीपी भएको पाँचौँ दिनमै जेनजी प्रदर्शनको मार खेपे । भदौ २३ मा भएको प्रदर्शनमा काठमाडौँको बानेश्वर र इटहरीमा प्रहरीको गोलीबाट कुल २२ जना प्रदर्शनकारीको मृत्यु भयो । उनी आईजीपी भएको छैटौँ दिनमा मुलुकको कार्यकारी प्रधानमन्त्री हेलिकप्टर चढेर बालुवाटार छाड्न बाध्य भए ।
नेपाल प्रहरीमा अहिले ७९ हजार ५४१ जनशक्ति कार्यरत छन् । त्यति ठुलो फौजको कमाण्ड गरेका खापुङको कार्यकालमा जेनजी प्रदर्शनकारीले ४६५ वटा कार्यालयमा आगजनी र तोडफोड गरे । अहिले तीमध्ये ४०१ वटा कार्यालय पुनर्स्थापना भइसकेको छ । २ महिना ७ दिन संगठनको नेतृत्व गर्दा शान्तिसुरक्षा कायम गर्न ‘असफल आईजीपी’को कलङ्क बोकेर खापुङ प्रहरीबाट बिदा हुँदैछन् ।
जनताको जिउधनको सुरक्षा गर्ने जिम्मेवारी सम्हालेको प्रहरीले जेनजी आन्दोलनका क्रममा भिड नियन्त्रण गर्ने कुशलता देखाउन त सकेन नै, आफ्नै कार्यालय र हतियारसमेत जोगाउन सकेन । आन्दोलनका क्रममा तीन प्रहरीको मृत्यु भयो भने साना–ठुला गरी प्रहरीका एक हजार दुई सयभन्दा बढी हतियार लुटिए ।
आईजीपी खापुङको अवकाश हुने दिन नजिकिँदै गर्दा ३३औँ आईजीपीको दौड सुरु भएको छ । नयाँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूबिच प्रतिस्पर्धा छ ।
एआईजीद्वय दान बहादुर कार्की र डा. मनोज कुमार केसी आईजीपीको मुख्य प्रतिस्पर्धी हुन् । राजन अधिकारी र शिद्धी बिक्रम शाह पनि आईजीपीका दाबेदार हुन् । कार्की, केसी र अधिकारी २०८२ वैशाखमा चन्द्रकुवेर खापुङसँगै एआईजीमा बढुवा भएका थिए । शिद्धी बिक्रम शाह २०८२ जेठ १५ मा एकल एआईजीमा बढुवा भएका हुन् ।
कार्की वरीयता सूचीको पहिलो नम्बरमा छन् । मेरिट लिस्टको दोस्रो नम्बरमा अधिकारी र तेस्रो नम्बरमा डा. केसी छन् । शाह चौथो नम्बरमा छन् ।
२०८० सालमा डा. केसी उपत्यका प्रहरी कार्यालयको प्रमुख थिए । त्यसैबेला कार्कीचाहिँ जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए । त्यसबेला चर्चित भुटानी शरणार्थी प्रकरण बाहिरियो । २०८० वैशाख २७ मा पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परे ।
उच्च राजनीतिक नेतृत्वको दबाबमा लुकाएर राखिएको शरणार्थीको फाइल अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. केसीले खोले । सो प्रकरणमा पक्राउ परेकाहरू माथि अनुसन्धान गर्ने र अनुसन्धान प्रतिवेदन पेस गर्ने कामको कमाण्ड काठमाडौँका तत्कालीन एसएसपी दानबहादुर कार्कीले गरे ।
चर्चित शरणार्थी प्रकरणमा संलग्न आरोपमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुत्र प्रतीक थापा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे र बिचौलिया बेचन झा पुर्पक्षका लागि थुनामा छन् । शरणार्थी प्रकरणमा संलग्न केशव प्रसाद दुलाल र सानु भण्डारी पनि अहिले कारागारमा छन् ।
कार्की र डा. केसी २०८१ जेठमा डीआईजीमा बढुवा भएका थिए । बढुवापछि प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोमा सरुवा भएका केसीकै नेतृत्वमा रहेको टिमले प्रतीक थापालाई पक्राउ गरेको थियो । शरणार्थी प्रकरणमा संलग्न बेचन झा पनि पक्राउ गरेपछि सरकार नै परिवर्तन भयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् विघटन भएर केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको थियो । झालाई भारतबाट ल्याइएको थियो । झालाई प्रहरीको कुन युनिटले पक्राउ गरेको थियो भन्ने तथ्य अझै गोप्य राखिएको छ ।
- जेनजी प्रदर्शनपछि चुनौतीपूर्ण जिम्मेवारीमा
दान बहादुर कार्कीले डीआईजी हुँदा लुम्बिनी प्रदेश प्र्रहरी कार्यालयको कमाण्ड गरे । एआईजी भएपछि कार्कीले मानवस्रोत विकास विभागको नेतृत्व गरे । भदौ २३ मा भएको जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर २२ जनाको मृत्यु भएपछि मन्त्रिपरिषद्ले उनलाई उपत्यका प्रहरी कार्यालयमा पठाउने निर्णय गरेको थियो । कार्की अहिले उपत्यका प्रहरी कार्यालयको नेतृत्वमा छन् ।
डीआईजी हुँदा विशेष ब्यूरोको कमाण्ड गरेका डा. केसीले एआईजी भएपछि प्रदेश समन्वय विभागको कमाण्ड गरे । अहिले उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुख छन् ।
राजन अधिकारीले डीआईजी हुँदा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको कमाण्ड गरे । अहिले प्रहरी प्रधान कार्यालयस्थित मानवस्रोत विकास विभागको नेतृत्वमा रहेका अधिकारी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निकट अधिकृतको रूपमा चिनिन्छन् । २०५४ चैत १८ मा कार्की, डा.केसी र अधिकारी सँगै इन्स्पेक्टरमा भर्ना भएका हुन् ।
- शिद्धी बिक्रमको दाबी ‘सिनियारिटी’
प्रहरी अतिरिक्ति महानिरीक्षक बन्दा पछाडि परेका शिद्धी बिक्रम शाह राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका हुन् । शाह २०५३ पुस ५ मा राअविमा सेवा प्रवेश गरेका थिए । त्यसैले शाहले आफूलाई अरु प्रतिस्पर्धीभन्दा सेवा प्रवेशको हिसाबले सिनियर दाबी गर्दै आएका छन् ।
अन्य प्रतिस्पर्धीभन्दा १५ महिना अगाडि सेवा प्रवेश गरेका शाह २०८२ जेठ १५ मा एआईजीमा बढुवा भएका थिए । एल.एल.एम गरेका उनी अहिले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख छन् । एसएसपी पदमा उनी कार्की, केसी र अधिकारीभन्दा अगाडिको वरीयतामा थिए ।

























