विज्ञापन

माओवादी केन्द्र समाजवादी लगायतका आठ दलबिच एकता हुदै:कस्तो छ कार्यदिशा र एकता मोडालिटि

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका केही साना कम्युनिस्ट पार्टी र समूहहरू पार्टी एकता घोषणाको अन्तिम तयारीमा जुटेका छन् ।

उनीहरूले पार्टीका आ–आफ्ना बैठक राखेर एकता गर्ने निर्णय अनुमोदन गरिसकेका छन् । स्थितिमा ठुलो उथलपुथल नभए कात्तिक २० गते संयुक्त भेला गरेर पार्टी एकता घोषणा गर्न लागिएको ती दलका नेताहरूको भनाइ छ ।

शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक र शनिवार बसेको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले एकता अपरिहार्य रहेको भन्दै जतिसक्दो चाँडो एकता घोषणा गर्ने निर्णय गरेका छन् ।

आइतबार बस्ने माओवादीको महाधिवेशन आयोजक समिति सचिवालय र एकीकृत समाजवादीको छुट्टा छुट्टै बसेर बसेर मिल्न बाँकी रहेका प्राविधिक विषयहरू मिलाउने प्रयत्न भइरहेको दुवै पार्टीका नेताहरूको भनाइ छ ।

  • घोषणा पत्र र विधान तयार

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा बेदुराम भुसालले एकीकृत पार्टीको घोषणा पत्र र विधान तयार भइसकेको बताए ।

‘घोषणापत्र तयार भैसकेको छ । विधान पनि लगभग तयार भैसकेको छ’, भुसालले भने, ‘ती दुवै दस्ताबेज राष्ट्रिय सम्मेलन भनेर पारित गरिन्छ ।’ एकतामा जोडिने पार्टीहरूको संयुक्त बैठकलाई नै राष्ट्रिय सम्मेलनका रूपमा परिणत गर्ने दलहरूको तयारी छ । निर्वाचन आयोगमा दल दर्ता गर्न ती दस्ताबेजहरू आवश्यक पर्ने भुसालको भनाइ छ । संयुक्त भेलामार्फत नै केन्द्रीय तहका कमिटी र संरचना पनि घोषणा गर्ने दलहरूको तयारी छ ।

  • के छ एकीकृत पार्टीको घोषणापत्रमा ?

एकीकृत पार्टीको घोषणापत्रमा विशेष गरी तीन वटा पक्ष समेटिएको नेताहरूको भनाइ छ ।

‘पहिलो–उद्देश्य र नीति, दोस्रो–मार्गदर्शक सिद्धान्त र दृष्टिकोण तथा तेस्रो– हाम्रो प्रतिबद्धता भन्ने छ’, एकीकृत समाजवादीका तर्फबाट गठित पार्टी एकता कार्यदलका संयोजक भुसालको भनाइ छ ।

स्रोतका अनुसार उद्देश्य र नीतिअन्तर्गत रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद रहेको छ । यो लक्ष्य नेपाल कम्युनिस्ट पार्टीले स्थापनाकालदेखि नै राख्दै आएको हो ।

‘यो लक्ष्य प्राप्त गर्ने क्रममा जनवादी क्रान्ति सम्पन्न भएको छ । समाजवादमा जानका लागि यो आधार हो यसैबाट अघि बढ्नुपर्छ । त्यसका लागि देशका सबै कम्युनिस्ट पार्टीहरू मिल्नुपर्छ’, घोषणापत्र निर्माणमा खटिएका एक नेताले भने, ‘जनवादी क्रान्तिका उपलब्धि र स्वाधीनताको रक्षा गर्दै  सामाजिक न्याय र सम्मृद्धिसहितको आर्थिक सामाजिक रूपान्तरण गर्दै समाजवादको दिशामा अघि बढ्ने नीति लिने रहेको छ ।’

त्यस्तै सैद्धान्तिक आधार दृष्टिकोणमा मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहने निश्चित भएको छ । ‘सङ्गठनात्मक सिद्धान्त’मा जनवादी केन्द्रीयता रहने र यसले अँगाल्ने कार्यक्रम कार्यदिशा वैज्ञानिक समाजवाद रहेको छ ।

स्रोतका अनुसार एकीकृत पार्टीको प्रतिबद्धतामा २१ बुँदा समेटिएका छन् । जसमा पार्टीले केके गर्छ भन्ने उल्लेख छ ।

‘मूल कुरा देशको राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्दै विकासका निम्ति अगाडि बढ्ने, विधान निर्माणमा संलग्न एक नेताले भने, ‘त्यसमा कसरी विकास गर्ने, मार्क्सवाद लेनिनवादका सार्वभौम सच्चाइलाई आत्मसात् गर्दै त्यसको प्रयोगको लागि प्रतिबद्ध रहने,भ्रष्टाचार उन्मुलन, सुशासन कायम,रोजगारी, पारदर्शिता लगायत रहेका कमीकमजोरी सुधार्ने विषय समेटिएका छन् ।’

त्यस्तै पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सबलीकरण गर्दै नेतृत्व हस्तान्तरणको वैज्ञानिक विधि अवलम्बन गर्ने पनि प्रतिबद्धतामा समेटिएको छ ।

पार्टी एकतापछि एकीकृत पार्टीको पार्टीको राष्ट्रिय महाधिवेशन नहुँदासम्म केन्द्रदेखि तलैसम्म संयोजक र सह संयोजक राखेर कमिटी निर्माण गर्ने दलहरूको तयारी छ ।

  • कोकोबिच हुँदै छ एकता ?

नेताहरूका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्रराय यादव नेतृत्वको नेसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट विद्रोह गरेको चिरण सीसँग समूहबिच एकताको तयारी भएको माओवादी केन्द्रका नेता अग्नि सापकोटाले बताए ।

माओवादीका नेता हरिबोल गजुरेलले सैद्धान्तिक र वैचारिक विषय मिलिसकेको भन्दै कात्तिक १७ गते पार्टीको केन्द्रीय समिति बैठक बस्ने तथा त्यसपछि सबै पार्टीको संयुक्त बैठक बसेर एकता घोषणा गरिने बताए । ‘वडा तहबाट सम्मेलन गर्दै आएर एकता महाधिवेशन गर्ने सहमति भएको छ । नेतृत्व संयोजक र सहसंयोजक रहने सहमति छ’, उनले भने, ‘केन्द्रदेखि तल्लो कमिटीसम्म त्यसरी नै समायोजन हुनेछ ।’

उनले एकता ६०/४० प्रतिशतले गर्नेगरी गृहकार्य भइरहेको पनि बताए । ‘दुई पार्टीबाहेक एकतामा आउने अन्य पार्टी पनि भएकाले केही प्रतिशत तलमाथि हुन सक्छ’, गजुरेलले भने, ‘सङ्गठनात्मक र प्राविधिक कुरा मात्र टुङ्ग्याउन बाँकी छ ।’

तर एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले प्रतिशत नतोकिएको दाबी गरे । ‘प्रतिशत तोकिएको छैन’, ज्वालाको भनाइ छ ।

एकीकृत पार्टीका तर्फबाट कात्तिक २१ गते निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी छ । ‘सचिवालय सानो बनाउनेगर छलफल भइरहेको छ । विधान र राजनीतिक दस्ताबेज बनाउने जिम्मा दुवै पक्षका कार्यदललाई दिइएको छ’, गजुरेलले भने, ‘पार्टीको नाम नेकपा समाजवादी प्रस्ताव गरिएको छ । लगभग त्यही फाइनल हुन्छ ।’

एकीकृत पार्टीको चुनाव चिन्ह तारा, कलम, दियो लगायतमा छलफल भइरहेपनि १८ गतेसम्म त्यसमा सहमति जुट्ने नेताहरूको भनाइ छ ।

  • एकताप्रति दुवै दलमा फरक मत

माओवादी, एकीकृत समाजवादी लगायतका दल एकीकरणको अन्तिम तयारीमा जुटेका बेला ती पार्टीका केही नेताहरूले अहिले नै हतारिएर एकता गर्न नहुने बताउँदै आएका छन् । एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले अहिलेको मोडलको एकताप्रति विमति राखेका छन् ।

त्यस्तै माओवादी केन्द्रमा नेता जनार्दन शर्माले फरक मत राखेका छन् । खनाल, भुसाल समूहले शनिवार अलग्गै भेला गरेर पार्टी पुनर्गठन र ध्रुवीकरणका लागि महासचिव घनश्याम भुसाललाई गहिरो संवाद गर्ने जिम्मा दिएको छ ।त्यस्तै माओवादी नेता शर्माले पार्टी पुनर्गठन नगरी एकताका लागि अघि बढे ऐतिहासिक गल्ती हुने बताएका छन् ।

‘विचार, सिद्धान्त, नीति र कार्यदिशाको स्पष्ट आधारमा पुनर्गठन नगरी अन्य पार्टीसँग एकताका लागी अघि बढ्नु ऐतिहासिक गल्ती हुनेछ। पुनर्गठित पार्टीले मात्रै अन्य वाम शक्तिहरूसँग विचार, कार्यनीति र लक्ष्य मिलाउँदै विश्वसनीय एकता निर्माण गर्न सक्छ,’ शर्माको भनाइ छ ।

बिना वैचारिक स्पष्टता, विगतको समीक्षा र सङ्गठनात्मक तयारी नगरी गरिने कुनै पनि एकताले वाम आन्दोलनलाई बलियो नबनाउने बरु क्रान्तिकारी धार कमजोर पार्ने र दक्षिणपन्थी अवसरवादलाई बल पुर्‍याउने शर्माको दाबी छ  ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन