मंशिर ७,धनगढी ।नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफ्नो पार्टी ताजा जनादेशका लागि तयार रहेको तर सरकारले चुनावको वातावरण बनाउन नसकेको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीले मंसिर १२ गते कैलालीको धनगढीमा गर्न लागेको एकता सन्देश सभाको जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता रावलले यस्तो बताएका हुन् ।
‘ताजा जनादेशको लागि हामी तयार छौँ,’ रावलले भने, ‘तर, जेन–जी आन्दोलनका दोषीलाई कारबाही र चुनावको वातावरण निर्माण भन्दा पनि सरकार अन्य काममा लागेको देखिन्छ । यसले स्वच्छ र भयरहित अवस्थाको चुनावका लागि वातावरण बनिसकेको छैन भन्ने प्रस्ट हुन्छ ।’
नेता रावलले आफ्नो वरीयताको पिर नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई रहेको आरोप लगाए । ‘मेरो वरीयताको सबभन्दा बढी पिर अहिले केपी ओलीलाई छ,’ उनले भने, ‘जसले मलाइ पार्टीमा बस्छु भन्दा पनि दिएन, पार्टीबाट निकाल्यो । अहिले उहाँलाई वरीयताको पिर भयो ।’
रावलले वरीयता खोज्न नभई देशको हितमा काम गर्न आफू नेपाली कम्युनिस्ट पार्टीमा लागेको बताए । जेन–जी आन्दोलनबाट पाठ सिक्नुको साटो युवा फोर्सका नाममा अपराधमा संलग्न व्यक्तिलाई नेतृत्व दिएर एमालेले नागरिकलाई तर्साउन खोजेको उनले आरोप लगाए ।
नेपाली कम्युनिष्ट पार्टीले धनगढीमा मंसिर १२ गते एकता सन्देश सभा गर्दै छ । सभालाई उक्त पार्टीका संयोजक पुस्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने छन् । सभाको तयारीका लागि रावलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
एकता सन्देश सभा भव्य बनाउन १३ वटा उपसमिति गठन गरेर तयारीको काम अगाडि बढाइएको नेता रावलले बताए । देशभरि नै एकताको सन्देश र उत्साह दिनेगरी सभा गरिने रावलले बताए ।

























