धनगढी,कैलाली । नेपाली कम्युनिस्ट पार्टी नेता भीम रावलले आगामी निर्वाचनमा सबैभन्दा ठुलो पार्टी नेकपा बन्ने दाबी गरेका छन् ।धनगढीमा सुरु भएको नेकपाको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दे उनले नेकपा ताजा जनादेशको लागि तयार रहेको बताएका थिए । उनले निर्वाचन भयरहित र निष्पक्ष हुनुपर्नेमा जोड दिए।
‘नेकपा ताजा जनादेशको लागि तयार छ । निर्वाचनबाट नेकपा सबैभन्दा ठुलो पार्टी बन्ने छ । त्यो निर्वाचन भयरहित बनाउन सरकारले गोली बन्दुकहरू आफ्नो नियन्त्रण लियोस् ’ उनले भने, ‘यो सरकार निर्वाचनको लागि मात्रै हो । निर्वाचन मात्रै गर्नुपर्छ । अरू सम्धी सम्झौता गर्न पाउँदैन । ’
उनले जेनजीको आवाज पनि नेकपाले बोक्ने बताएका थिए । केपी ओलीले समस्या सृजना गरेर भागेर फेरी भक्तपुरमा पुगेर जनतालाई धम्क्याउन लागेको उनको आरोप थियो । उनले ओलीकै कारण एमालेमा ठुलो समस्या पैदा हुँदै गएको बताएका थिए ।
‘नेकपा एमालेलाई बलियो बनाउन १० बुँदे सहमति भएको थियो तर त्यो पनि ओलीले च्याते । पछि फेरी सिद्धान्त विपरीत कांग्रेस विरुद्ध गठबन्धन गरेर पद बाढिचुढि खाए ’ उनले भने , ‘गठबन्धन सरकारबाट हाम्रो र देशको कार्यपालिका व्यवस्थापिका र न्यायपालिका खरानी भयो । केपी ओली त्यही खरानी घसेर जनतालाई तर्साउन खोजिरहनु भएको छ । ’



























