काठमाडौँ । नेकपा (एमाले) को जारी ११ औँ राष्ट्रिय महाधिवेशनमा आज (बुधबार) नयाँ नेतृत्व चयनको लागि मतदान हुँदैछ । अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर मैदानमा खडा भएका छन् । निर्वाचन आयाेगले जारी गरेकाे कार्यतालिका अनुसार मंगलबार नै मतदान गर्नुपर्ने भए पनि भोटिङ मेसिन तयार नभएपछि आज मात्र मतदान हुन लागेको हो । मतदान बिहान ८ बजेबाट सुरु हुने बताइएको छ । उम्मेदवारहरु यतिवेला नेता कार्यकर्तासँग मत माग्न व्यस्त छन् । मत माग्न कतिपय उम्मेदवारले फरक फरक शैली अपनाइरहेका छन् । केन्द्रीय सदस्यका उम्मेदवार तुलसी न्यौपानेले भने तुलसीको बोट नै हातमा बोकेर मत मागिरहेका छन् ।
अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल यतिवेला महाधिवेशन स्थल पुगेका छन् । उनले नेता कार्यकर्तासँग मत माग्न थालेका छन् । मतदान बिहान ८ बजेदेखि सुरु हुने बताइए पनि केही ढिलाइ भएको छ । यद्यपि मतदाताहरू लाइन लागेर बसेका छन् । अध्यक्ष केपी शर्मा ओली मतदानस्थल पुगेपछि मतदान सुरु गर्ने तयारी छ ।
महाधिवेशनस्थल भृकुटीमण्डप उम्मेदवारका प्रचार सामग्रीले अस्तव्यस्त बनेको छ। नेतृत्व चयनका लागि महाधिवेशन चलिरहँदा प्रचार सामग्री जथाभाबी फालिएको देखिन्छ।
प्रतिक्रिया जनाउनुहाेस्


























