काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि भृकुटीमण्डपमा मतदान जारी छ । मंसिर २७ गतेदेखि सुरु भएको महाधिवेशनको चौथो दिन नेतृत्व छनोटका लागि बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।
एमालेको भावी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । लामो समय ओली क्याम्पमा रहेर नेतृत्वलाई सहयोग गरेका पोखरेल यसपटक भावी अध्यक्षका लागि आफैं मैदानमा उत्रिएका कारण यो महाधिवेशनलाई सबैले चासो साथ हेरेका छन् ।
सर्वसम्मत रुपमा तेस्रो पटक अध्यक्ष बन्न खोजेका ओलीको प्रयास असफल भएपछि चुनावी प्रक्रियाबाट नै छिनोफानो गर्न लागिएको छ । नयाँ नेतृत्व छनोटका लागि देशभरबाट दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधि आएका छन् । यस महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय समिति र तीनवटा केन्द्रीय आयोगका पदाधिकारी छान्ने छन् ।
रोचक कुरा अध्यक्षपछिको महत्त्वूर्ण पद मानिएको महासचिवमा यसपटक वर्तमान महासचिव शंकर पोखरेलसँग उपाध्यक्ष सुरेन्द्र पाण्डे मैदानमा उत्रिएका छन् । २०७१ सालमा भएको एमालेको नवौँ महाधिवेशनमा पाण्डेलाई पोखरेललाई ६ मतले हराएका थिए । पोखरेल त्यतिबेला पनि ओली प्यानलबाट महासचिवको उम्मेदवार थिए । पाण्डे माधव नेपालको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यतिबेला पोखरेलले एक हजार ३६ मत पाउँदा पाण्डेले एक हजार ३० मत पाएका थिए ।
१३ वर्षपछि इतिहास उल्टाउने विश्वासका साथ पाण्डेले उम्मेदवारी दिएका हुन् । पूर्वअर्थमन्त्री समेत रहेका पाण्डे अर्थ–राजनीतिमा गहिरो दक्खल भएका शालीन नेता मानिन्छन् । त्यतिबेला अध्यक्षमा केपी ओलीले १ हजार ४७ मत प्राप्त गरी विजयी भएका थिए । झिनो मतले पराजित भएका निकटतम प्रतिस्पर्धी नेपालले एक हजार ३ मत पाएका थिए ।
यसपटक विगतमा ओलीलाई साथ दिएका प्रदीप ज्ञवालीले महासचिव पद नपाएपछि केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन् । कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, कर्ण थापा लगायत नेताहरूले पोखरेलको प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिएका छन् ।
जेनजी विद्रोहपछि पार्टीभित्र र बाहिर नेतृत्व छाड्न ओलीमाथि चर्को दबाब आएको थियो । अध्यक्षका उम्मेदवार पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे लगायत नेताहरूले अध्यक्षमा ओलीको निरन्तरता कायम भए पार्टीले थप क्षति व्यहोर्नेतर्फ ध्यानाकर्षण गराउँदै राजीनामा दिन सुझाएका थिए । तर ओलीले पार्टी सत्ता र राज्य सत्तामा रहँदा आफूले कुनै गल्ती नगरेको जिकिर गर्दै पोखरेल समूहलाई चुनौती दिएका छन् ।
पूर्वमहासचिव मदन भण्डारीको निधनपछि ओलीलाई लगातार साथ दिँदै आएकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’मा राखिएकोप्रति असन्तुष्टि पोखेकी थिइन् । भण्डारीकै चाहना अनुसार पोखरेललाई चुनावी मैदानमा उतारिएको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
मतदानस्थलमा ८० वटा विद्युतीय मेसिन राखिएको छ । एक पटकमा ८० जनाले मतदान गर्न पाउनेछन् । प्राविधिक नवराज पाण्डेका अनुसार एक जनालाई मतदान गर्न करिब ४० मिनेट लाग्ने भएकाले मतदान सम्पन्न गर्न २० घण्टा जति लाग्नेछ ।



























