८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन अवस्थाको समीक्षा गर्न पाक्षिक बैठक सुरु भएको छ ।
कार्यबाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा केन्द्रमा रहेका विभागीय प्रमुखहरुसँग चालु आर्थिक वर्षमा आफू मातहत कार्यान्वयन हुनु पर्ने कार्यक्रमको समीक्षा थालिएको हो ।
कार्यान्वयनमा गएका कार्यक्रमको गुणस्तर र प्रभावकारिता कस्तो छ ? कार्यान्वयनमा जान बाँकी कार्यक्रम कसरी र कहिले सञ्चालन हुन्छ ? कार्यान्वयन हुन नसक्ने कुनै कार्यक्रम छन् भने किन कार्यान्वयन हुँदैन् ? लगायतका विषयमा बैठकमा विभागीय प्रमुखहरुले प्रस्तुतिसहितको प्रगति पेश गर्नुपर्ने बताएका छन् ।
यसरी पेश गर्नु पर्ने विवरणमा चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमको संख्या, विनियोजित रकम, यो रकम महानगरपालिकाको कुल बजेटको कति प्रतिशत हो ? यसमध्ये अहिलेसम्म कतिवटा कार्यक्रम कार्यान्वयनमा आए ? कार्यान्वयनमा आएका कार्यक्रम कति बजेटका हुन् ? यसको वित्तीय र भौतिक प्रगति कति हो ? चालु आर्थिक वर्षमा सम्पन्न गर्न निश्चित भएका कार्यक्रमको संख्या कति हो ? यसमा कति प्रतिशत रकम खर्च हुन्छ ? सुरु हुन नसकेका कार्यक्रम कति रकम बराबरका हुन् ? ती कार्यक्रम किन कार्यान्वयनमा जान नसक्ने हुन् ? विभागीय प्रमुखहरुको प्रस्तुतिमा समेटिनेछन् ।
यी प्रस्तुतिमा अन्तरसम्बन्धित क्षेत्रका अधिकारीहरूको प्रतिक्रिया राख्नेछन् ।
आजको पहिलो वैठकमा कार्यवाहक प्रमुख डंगोलले, पूँजीगत खर्च गर्ने मितव्ययी क्षमता बढाउनमा, गुुणस्तर र गुणात्मकतामा जोड दिँदै, हरेक कार्यक्रम कार्यान्वयन गर्दा आम मानिससँग कति जोडिन्छ ? र कसरी जोडिन्छ भन्ने विषयमा ध्यान दिन निर्देशन दिए ।


























