रुपन्देही । पटक पटक विभिन्न नेताहरूले छाड्दै गएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पुनः विभाजित भएको छ । सो पार्टीबाट अलग भएकी वरिष्ठ नेतृ उमा भुजेल ‘शिलु’को संयोजकत्वमा ९१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन भएसँगै यो पार्टी औपचारिक रूपमा विभाजन भएको हो ।
नेतृ भुजेललाई विप्लवले केही समयअघि कारबाही गरेपछि उनी निकट ठूलो समूहले पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे जनयुद्धका क्रममा गोर्खा जेलब्रेक घटनाबाट चर्चामा आएकी नेतृ भुजेलले नेतृत्व गरेको नयाँ नेपाल कम्युनिष्ट पार्टीले आगामी भदौभित्र राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको जनाइएको छ।
असार २५ गते जारी विज्ञप्तिमार्फत भुजेलले विभिन्न कम्युनिष्ट पार्टी, विशेष गरी माओवादी धारबीच वैचारिक रूपान्तरणसहितको एकता अहिलेको आवश्यकता बनेको उल्लेख गरेकी छन्। उनले विभाजित कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्दै समाजवादी दिशामा अघि बढ्न नयाँ पहल थालिएको दाबी गरेकी छन्।
नयाँ पार्टीले पुनर्गठनका उद्देश्यसमेत सार्वजनिक गरेको छ। विज्ञप्तिअनुसार साम्राज्यवादी हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनताको पक्षमा संघर्ष गर्ने, सरकारका राष्ट्रविरोधी तथा जनविरोधी गतिविधिको प्रतिवाद गर्ने, विगतका जनआन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने तथा कम्युनिष्ट जनमतलाई सुदृढ बनाउने उद्देश्य राखिएको छ। यस्तै श्रमजीवी जनतालाई समाजवादी विचारबाट प्रशिक्षित गर्दै समाजवादी क्रान्तिका लागि आवश्यक सबै प्रकारका संघर्षका मोर्चा परिचालन गर्ने नीति पार्टीले लिएको जनाएको छ।
पार्टीले पहिलो चरणमा विभिन्न माओवादी समूहबीच रूपान्तरणसहितको एकता गर्दै समग्र नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने लक्ष्य अघि सारेको छ। साथै कम्युनिष्ट शक्तिसहित देशभक्त, लोकतन्त्रवादी र गणतन्त्रवादी शक्तिहरूबीच संयुक्त मोर्चा निर्माण गर्ने तथा जनयुद्ध, एकीकृत जनक्रान्तिलगायत परिवर्तनकारी आन्दोलनका शहीद, बेपत्ता र घाइते योद्धाहरूको सपना साकार पार्न एकताबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता पनि जनाएको छ।



























