८ मंसिर, देउखुरी । नेपाली कांग्रेस देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा पूर्वमन्त्री तथा युवा नेता सरोज थापा (रोज राणा) सर्वसम्मत चयन भएका छन् ।
दाङ देउखुरीको पाखापानीमा सोमबार राति सम्पन्न लुम्बिनी प्रदेशको दोस्रोअधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गरेको देउवा समूहका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले जानकारी दिए ।
थापा प्यूठानबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी लुम्बिनी प्रदेश सरकारमा दुई पटक मन्त्री बनेका छन् । पहिलो पटक यातायात मन्त्री र दोस्रो पटक शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थापा यसअघि दुई कार्यकाल नेपाली कांग्रेस प्यूठानको क्षेत्रीय सभापति पनि भइसकेका छन् ।
उनको नेतृत्वमा प्रदेशस्तरमा देउवा पक्षले आफ्नो संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
अधिवेशनबाट अन्य पदाधिकारी तथा सदस्य चयनका लागि पनि सर्वसम्मत सहमति जुटाउने प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशन उदघाटन समारोहमा नेताहरु शेरबहादुर देउवा, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, उमाकान्त चौधरी, मोहनबहादुर बस्नेत, एनपी साउद, सहभागी हुनु भयको थियो ।

























