धनगढी, २९ भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशस्तरीय बाल सञ्जालका पदाधिकारीहरूले आफ्नो दैनिक खाजाका लागि छुट्याइने रकम बचत गर्दै बाढी प्रभावित क्षेत्रका बालबालिकाको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेका छन्।
सञ्जालका पदाधिकारीहरूले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु. ५ हजार सहयोग गरेका हुन्।
बालबालिकाहरूले मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगको भावनालाई आत्मसात् गर्दै आफ्नो खाजा खर्चबाट बचत गरी संकलन गरेको उक्त रकम बाल अधिकार र सशक्तीकरणका लागि सामूहिक पहल (सुदूरपश्चिम) का संयोजक हेमराज जोशीमार्फत सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बताए ।
सुदूरपश्चिम प्रदेशस्तरीय बाल सञ्जालले राष्ट्रिय बाल दिवसलाई केवल औपचारिक कार्यक्रम र नारामा सीमित नराखी विपदमा परेका बालबालिकाप्रति ऐक्यबद्धता, सहानुभूति र सहयोग प्रकट गर्ने अवसरका रूपमा लिएको जनाएको छ। बाढीबाट प्रभावित परिवार तथा बालबालिकाको राहत, उद्धार र पुनःस्थापनामा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको सञ्जालले जनाएको छ।
सञ्जालका संयोजक लोचन कुँवरले सुदूरपश्चिमका बालबालिकाले आफ्नै खाजा खर्चबाट बचत गरी गरेको सहयोगले बाढीपीडित बालबालिकाको जीवनमा थोरै भए पनि आशा र राहत थप्ने विश्वास व्यक्त गरे। उनले विपद्को समयमा सहयोगका लागि ठूलो स्रोत र साधनभन्दा पनि मानवीय भावना र ‘आफ्नो ठाउँबाट केही गरौँ’ भन्ने सोच महत्वपूर्ण हुने बताए।
बालबालिकाको यो सानो प्रयासले समाजमा सहयोग, सहकार्य, मानवीयता र सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विपद्को समयमा बालबालिका पनि सामाजिक परिवर्तनका संवाहक बन्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ।



























