विज्ञापन

युरोपमा बमको झुटो धम्कीले दर्जनौं उडान प्रभावित, सुरक्षामा लडाकु जेटसमेत परिचालन

विज्ञापन
Image
विज्ञापन

२० कात्तिक, काठमाडौं । युरोपका विभिन्न देशमा उडान गरिरहेका विमानमा बम राखिएको भन्दै धम्की आएपछि विहीबार एकैदिन २१ भन्दा बढी हवाई सेवा प्रभावित भएको छ । गत मंगलबार पनि यस्तै धम्कीका कारण युरोपका कम्तीमा २५ वटा उडान प्रभावित भएका थिए ।

पछिल्लोपटक आएको धम्कीका कारण केही विमानको उडान मार्ग परिवर्तन गरिएको छ भने केहीलाई आपत्कालीन अवतरण गराइएको छ । धम्कीका कारण कतिपय देशमा लडाकु जेट विमानसमेत परिचालन गर्नुपरेको बीबीसीले जनाएको छ ।

विभिन्न विमानस्थलका अधिकारीका अनुसार धम्कीपछि गरिएको सुरक्षा जाँचमा अहिलेसम्म कुनै पनि विमानमा विस्फोटक वा शंकास्पद वस्तु फेला भने परेको छैन । त्यसैले बेलायतकी यातायातमन्त्री हेइडी अलेक्जेन्डरले यो घटनालाई ‘दुर्भावनापूर्ण झुटो धम्की’ भनेर टिप्पणी गरेकी छन् ।

इटालीको रोमस्थित विमानस्थलमा रोम आउन लागेका विमानलाई लक्षित गरी इमेलमार्फत धम्की आएको थियो । उक्त इमेल आफूलाई ‘फाइटर्स अफ द मेल स्टेट’ बताउने समूहका तर्फबाट पठाइएको थियो । समूहले आफूहरू नारीवादी शासन व्यवस्थालाई निशाना बनाइरहेको दाबी गरेको थियो ।

यस्तै, चेक गणतन्त्रको प्रागमा बमको धम्कीपछि अवतरण गरेका चारवटा विमानमा प्रहरीले सुरक्षा जाँच गरेको थियो । ती विमानमा ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ (अस्थायी रूपमा बनाइएको विस्फोटक उपकरण) रहेको आशंका गरिएको थियो । तर, कुनै पनि विमानमा विस्फोटक पदार्थ फेला नपरेको प्रहरीले जनाएको छ ।

लडाकु जेटसमेत परिचालित

धम्कीपछि विमानको सुरक्षाका लागि विभिन्न देशका वायुसेनाले लडाकु विमान परिचालन गरेका थिए । इटालीको वायुसेनाले हेलसिन्कीबाट रोम आउँदै गरेको फिनएयरको विमानलाई लडाकु जेटमार्फत सुरक्षा दिएको थियो । उक्त विमानलाई क्रोएसियाको वायुसेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेपछि इटालीको वायुसेनालाई जिम्मा लगाएको थियो ।

त्यस्तै, बुल्गेरियातर्फ गइरहेका र्यानएयरका तीनवटा विमानलाई पनि सैन्य विमानले सुरक्षा दिएका थिए । तीमध्ये दुईवटा विमान डेनमार्कको कोपनहेगन र स्पेनको म्याड्रिडबाट सोफिया पुगेका थिए । लन्डनबाट आएको अर्को विमान भने बुल्गेरियाकै प्लोभ्दिभमा सुरक्षित अवतरण गरिएको थियो ।

डब्लिनबाट रोमका लागि उडेको एर लिङ्गसको विमानलाई भने फ्रान्सको इभ्रुस्थित सैन्य विमानस्थलमा डाइभर्ट गरिएको थियो । फ्रान्सेली प्रधानमन्त्री सेबास्टियन लेकोर्नुको कार्यालयका अनुसार विमान सुरक्षित अवतरण गरेपछि विस्फोटक पदार्थ निष्क्रिय पार्ने टोलीले जाँच गरेको थियो । फ्रान्सेली अधिकारीले पाइलटले सुरक्षा निकायसँग अपेक्षाअनुसार सहकार्य नगरेको भन्दै लडाकु विमान परिचालन गरी उक्त विमानलाई अवरोध गरेको बताएका थिए । तर, एर लिङ्गसले आफ्ना पाइलटले फ्रान्सेली अधिकारीसँग पूर्ण सहकार्य गरेको जनाएको छ ।

एकै दिन धेरै उडान प्रभावित हुनु ‘असामान्य’

युरोपमा विमानमा बम राखिएको भन्दै झुटा धम्की आउनु नयाँ घटना नभए पनि एकै दिन यति धेरै उडान प्रभावित हुनु असामान्य रहेको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले जनाएको छ ।

ब्रसेल्सस्थित ब्रुगेल थिंक ट्यांकका वरिष्ठ अनुसन्धानकर्ता ज्याकोब फङ्क किर्केगार्डले यस्ता धम्कीले युरोपेली सरकार र विमानस्थलका अधिकारीहरूको सुरक्षा प्रतिक्रिया तथा आपसी समन्वयको परीक्षण गरिरहेको हुन सक्ने बताएका छन् ।

उनका अनुसार यस्ता गतिविधिको उद्देश्य युरोपको हवाई यातायात प्रणालीप्रति अनिश्चितता र अविश्वास सिर्जना गर्नु हुन सक्छ । यसले विमानस्थलको सुरक्षा जाँच, अनुसन्धान र विमान सफाइमा अतिरिक्त खर्च बढाउनुका साथै हवाई यातायातको नियमित तालिका नै प्रभावित पार्न सक्छ ।

इंग्ल्यान्डको कोभेन्ट्री विश्वविद्यालयका उड्डयन सुरक्षा विषयका भिजिटिङ प्रोफेसर फिलिप बाउमका अनुसार एउटा उडान प्रभावित हुँदा विमान कम्पनीलाई दुई लाख ५० हजार अमेरिकी डलरसम्म खर्च हुन सक्छ ।

यस्ता घटनाले चालक दलको कार्यअवधि थपिने, वैकल्पिक कर्मचारी परिचालन गर्नुपर्ने र यात्रुले अर्को उडान छुटाउनेजस्ता समस्या निम्त्याउने उनले बताएका छन् ।

घटनाको अनुसन्धान जारी

यसैबीच, युरोपेली संघका यातायात आयुक्त अपोस्टोलोस त्जित्जिकोस्तासले घटनाहरू आपसमा सम्बन्धित छन् वा छैनन् भन्ने निष्कर्ष निकाल्न हतार गर्न नहुने बताएका छन् ।

घटनाबारे विभिन्न देशमा अनुसन्धान भइरहेको र हवाई सुरक्षासम्बन्धी सूचना आदानप्रदान गर्ने युरोपेली संघको संयन्त्र सक्रिय बनाइएको उनले जानकारी दिएका छन् ।

यसअघि मंगलबार पनि युरोपका कम्तीमा २५ वटा उडान बमको धम्कीबाट प्रभावित भएको अधिकारीहरूले बताएका थिए । ती घटनामा पनि कुनै विस्फोटक पदार्थ फेला परेको थिएन ।

अहिलेसम्म यस साताका धम्की एउटै समूहलेi दिएको हो वा फरक–फरक समूह संलग्न छन् भन्ने खुलेको छैन । धम्की दिनुको उद्देश्यबारे पनि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन