घोषणाको छोटो समयमै चर्चाको शिखरमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई एकपछि अर्को धक्का लाग्ने क्रम रोकिएको छैन । गत निर्वाचनकै मुखमा दर्ता भएर २१ सीट जित्दै रास्वपाले परम्परागत दलमाथि दबाब बढाएको थियो । तर, कान्छो पार्टी रास्वपा छोटो समयमै विवादको भुंग्रोमा रुमल्लिएको छ ।
चुनाव जितेको केही समयमै नागरिकता प्रकरणमा सभापति रवि लामिछानेको सांसद पद गयो । सांसद बन्न पैसाको लेनदेन भएको अडियो प्रकरणमा ढाकाकुमार श्रेष्ठले पद गुमाए । लामिछानेकै विश्वासपात्र डा. मुकुल ढकालमाथि पार्टीले अनुशासनको कारबाही गर्दै महामन्त्री र केन्द्रीय सदस्यबाट हटायो
नागरिकता लिएर रविले पुनः चितवन २ बाट चुनाव जिते । तर, एउटा होइन, चार जिल्लामा सभापति रवि लामिछानेमाथि सहकारी ठगीको मुद्दा चलिरहेको छ । रुपन्देही जिल्ला अदालतले रविलाई धरौटीमा रिहा गरे पनि उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि रवि फेरि थुनामा पुगेका छन् ।
रवि थुनामै रहेका बेला रास्वपालाई अर्को झट्का लाग्न पुगेको छ । कुनै समय पार्टीले निकै भरोसा गरेकी सुमना श्रेष्ठले सह–महामन्त्री पदबाट राजीनामा दिएकी छिन् । ‘एक पद, एक व्यक्ति’का लागि राजीनामा दिएको दाबी उनको छ । तर, उनले पत्रमा सभापति लामिछानेदेखि पार्टीको विधि, पद्धति र प्रणालीमाथि दर्जनौं प्रश्न उठाएकी छिन् । छोटो समयमा ठूलो उतारचढाव बेहोरेको रास्वपालाई सुमनाको राजीनामाले थप झट्का दिएको छ ।
निर्वाचनमार्फत जनताले अभूतपूर्व जनमत दिए पनि पार्टीले आशा देखाउन नसकेको उनको आरोप छ । यतिमात्रै होइन, सुमनाले आँट गरेर सभापतिमाथिको सहकारी ठगीको अभियोगबारे बोलेकी छिन् । उनले सहकारी ठगीलाई प्रतिशोध मात्रै भनेर उम्किन नमिल्ने आशयको गम्भीर सवाल खडा गरेकी हुन् ।
‘एक नयाँ पार्टीलाई अघिल्लो निर्वाचनमा अभूतपूर्व जनमत मिल्यो । देशलाई बेथितिबाट बाहिर निकाल्छ भनेर जनताले हामीमाथि ठूलो आशा राखेको स्पष्ट छ,’ सुमनाले पार्टीलाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ, ‘मैले हालसालै गरेको देश यात्रामा पनि त्यो आशा बाँकी रहेको पाएँ । तर, दलको प्रस्तुति सोचेजस्तो सशक्त नभएको गुनासो छ । पुराना दलले हाम्रो पार्टीमाथि लगाएको सहकारी ठगीको लेबल चिर्न हामीले प्रतिशोध साँधेको भन्ने नारा मात्र अघि बढायौं ।’
व्यवस्थापन परामर्शदाताको रूपमा विदेशका प्रतिष्ठित संस्थामा काम गरेको दाबी गर्दै आएकी सुमनाले वैकल्पिक राजनीतिको वकालत गर्ने पार्टीमाथि थुप्रै प्रश्न खडा गरेकी हुन् । आफू पदाधिकारी भए पनि महत्त्वपूर्ण निर्णय अरू नै स्रोतबाट थाहा पाउनुपर्ने स्थिति आएपछि पद त्याग गरेको उनको दाबी छ ।
कुनै समय सभापति रवि लामिछानेको भरोसा, विश्वास र स्वदेशदेखि विदेशसम्म पार्टीको नामलाई ब्रान्डमा रूपमा चिनाउने पात्र थिइन्, सुमना । तर, रवि एकपछि अर्को विवादबाट नउम्किँदै सुमनाले पार्टी प्रणाली, नेतृत्व र कार्यसम्पादनमा गम्भीर प्रश्न उठाएकी हुन् ।
व्यवस्थापन परामर्शदाताको रूपमा विदेशका प्रतिष्ठित संस्थामा काम गरेको दाबी गर्दै आएकी सुमनाले वैकल्पिक राजनीतिको वकालत गर्ने पार्टीमाथि थुप्रै प्रश्न खडा गरेकी हुन् । आफू पदाधिकारी भए पनि महत्त्वपूर्ण निर्णय अरू नै स्रोतबाट थाहा पाउनुपर्ने स्थिति आएपछि पद त्याग गरेको उनको दाबी छ ।
‘पदाधिकारी भएर समेत पार्टीसम्बन्धी महत्त्वपूर्ण विषय तथा निर्णय आधिकारिक स्रोतबाट नभई अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले पदको कुनै वजन नभएको महसुस गरें,’ उनले भनेकी छिन्, ‘कैयौंपटक विभिन्न विषयमा बैठक बसौंभन्दा समेत वास्ता नगरेको, संसदीय दलमा विद्यार्थीको विषयलाई लिएर सदन अवरुद्ध गरौं भन्दा पनि नसुनिने अवस्था देखें । यस्तो महत्त्वपूर्ण पद अबचाहिँ यसरी हलुका नालिदिनुहुन पनि आग्रह गर्छु ।’
रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी ‘संसदमा फोकस हुन्छु’ भनेर सुमनाले राजीनामा दिएको बताउँछन् ।
‘संसदमा फोकस हुँदा पार्टीको जिम्मेवारी पूरा गर्न सक्दिनँ कि भनेर उहाँले राजीनामा दिनुभएको बुझेका छौं, कुनै विवाद र सभापतिसँग गुनासो भएर होइन,’ बुर्लाकोटीले लोकान्तरसँग भने, ‘सहमहामन्त्रीबाट राजीनामा गर्न खोजेपछि यी चिज बिर्सन हुँदैन भनेर राजीनामा पत्रमा केही कुरा ध्यानाकर्षण गराउनुभएको हो ।’
पार्टीमा यस्ता उतारचढाव नआए सक्रियता नै नबढ्ने उनी बताउँछन् ।‘एउटा जीवन्त पार्टीमा यो खालको उतारचढाव र भाइब्रेसन भएन भने पार्टी निर्माणको सक्रियता कम हुन्छ । बोरामा धान हाल्दा पनि हल्लाएपछि मात्रै मिल्छ,’ बुर्लाकोटीले भने, ‘पार्टी एउटै व्यक्तिको शरीरजस्तो होइन, धेरैको भीडले बनेको हुन्छ । सबैको एउटै सोच हुँदैन । धेरैको चिन्तनमा यस्तो हुनु नराम्रो होइन, बरु अझै थोरै हो ।’
पार्टीमा संस्थागत निर्णय हुने गरेको दाबीसमेत उनले गरे ।
‘म पार्टीको कार्यवाहक महामन्त्री छु, तर क्षेत्राधिकारका हिसाबले सुमनाजीले संसदमा बोलेपछि मात्रै थाहा पाउँछु,’ उनले भने, ‘रास्वपामा पदाधिकारीमा छलफल गरेर बैठकमा निर्णय गर्छौं । निर्णय प्रक्रिया बाहिरबाट भएको छैन ।’
रास्वपा छाडेर बालेनतिर लाग्ने आकलन
‘एक व्यक्ति, एक पद’को पक्षमा रहेर सांसद भएरै पार्टीमा सक्रिय हुने उनको प्रस्टोक्ति छ । तर, यसअघि सहमहामन्त्री र सांसद भएकै बेला सुमना शिक्षा मन्त्री थिइन् ।
पार्टीमा नेतृत्वसँग ट्युनिङ मिल्दासम्म उनले बहुपदलाई पनि समस्या मानेकी थिइनन् । तर, सभापतिमाथि गम्भीर आरोप लाग्दा पार्टी बचाउमा मात्रै लागेको, सभापति पार्टी जिम्मेवारीबाट अलग हुन नचाहेकोजस्ता विषयलाई उनले अहिले गम्भीर मानेको देखिन्छ । कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा बुझाए पनि लामिछाने फेरि पार्टी सभापतिकै हैसियतमा फर्किएको समेत सुमनालाई मन नपरेको देखिन्छ ।
चैत १८ गते रविले केन्द्रीय कार्यालय वनस्थलीमा सभापतिकै हैसियतमा केन्द्रीय समितिको विशेष बैठक राखेका थिए । चैत १८ गतेको मिति राखेर श्रेष्ठले दिएको राजीनामा पत्रमा लामिछानेलाई उनले पूर्व सभापति भनेर उल्लेख गरेकी छिन् ।
‘रास्वपाप्रति मेरो प्रतिबद्धतामा केही हेरफर हुन दिने छैन । मलाई यो मञ्च र जनतामाझ पुग्ने मौका पार्टी र पूर्व सभापति रवि लामिछानेको प्रयासका कारण मात्र सम्भव भएकोमा कुनै दुई मत हुन सक्दैन,’ सुमनाले भनेकी छिन्, ‘पार्टीको जिम्मेवारीबाट मुक्त भएपछि सांसद्को भूमिकालाई अझ सशक्त रूपमा अघि बढाउने छु ।’

मुद्दा विचाराधीन रहेकै अवस्थामा लामिछानेले पार्टी सभापतिको हैसियतमा बैठक समेत राखेका थिए । घण्टी बजाउँदै पार्टी काममा फर्किएको ६ दिनमै रवि जेल चलान भए ।
आफूले दिएको राजीनामा बिहीबारको बैठकपूर्व सार्वजनिक नगर्न आग्रह गरे पनि नियोजितरूपमा बाहिर ल्याएको तर्क उनले गरेकी छिन् । बैठक हुने दिन नै सुमनाले राजीनामा दिएको समाचार बाहिरिएको थियो । आफ्नो अपेक्षाविपरीत राजीनामाको विषय बाहिरिएपछि उनी झन् असन्तुष्ट बनेकी हुन् । बिहीबारको केन्द्रीय समितिको बैठकमा उनी ढिलो गरी पुगेकी थिइन् ।
बैठकपछि बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग सुमनाले पार्टी र केन्द्रीय सदस्यबाट नभई सह–महामन्त्रीबाट राजीनामा दिएको बताएकी थिइन् । रवि फर्किएको दिनभन्दा २ हप्ताअगाडि आफूले राजीनामा दिएको उनले प्रस्ट्याइन् । तर, केन्द्रीय समितिमा आफूले नबोल्दै राजीनामा पत्र सार्वजनिक गरेको भन्दै उनले असन्तुष्टि जनाएकी हुन् । सभापति आउँदा पार्टी ‘रिफर्म’ गरेर जाऊँभन्दा पनि सुनुवाइ नभएको उनको आरोप छ ।
श्रेष्ठले सह–महामन्त्रीको पदबाट सभापति लामिछानेसमक्ष राजीनामा दिएको जानकारी बिहीबारको बैठकमा गराइएको थियो । यसबारे आवश्यक छलफल गरेर प्रक्रिया अगाडि बढाइने कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बैठकमा बताएका थिए । सुमनाले रास्वपा परम्परागत पार्टीजस्तो भन्दा योगदान गर्न सक्नेका लागि डेमोक्रेटिक प्लेटफर्म भएको बताएकी छिन् ।
पछिल्लो समय बालेनसँग उनको निकटतालाई लिएर पनि चर्चा भएको छ । बैठकपछि सञ्चारकर्मीसँग सुमनाले पार्टीकै छलफलअनुसार वसन्तपुरमा बालेनलाई भेटेको बताएकी छिन् । उनले वैकल्पिक राजनीति गर्नेहरू एक हुनुपर्ने पनि बताइन् ।
‘हामीले आन्दोलनकै क्रममा पुरानो संस्कारको राजनीतिमा चित्त नबुझ्नेहरू सबै एक ठाउँमा आउनुपर्छ भन्यौं । त्यतिबेला यो कुरा स्थापित पनि भएको छ । रविजीले पनि छलफल गर्नुपर्छ भन्नुभएको थियो,’ सुमनाले भनेकी छिन्, ‘एक महिनाअघि बालेनलाई वसन्तपुरमा भेटेको हो । तर, अहिले मलाई डिफेन्सिभ पोजिसनमा राख्न खोजियो ।’
अहिलेकै तरिकाले वैकल्पिक राजनीति अगाडि बढ्न नसक्ने भन्दै उनले चित्त नबुझेकाहरू एक ठाउँमा उभिनुपर्ने अपिल गरेकी छिन् ।
‘यो तरिकाले राजनीतिलाई अगाडि लान सक्दैनौं । वैकल्पिक राजनीतिको यात्रा डिफेन्सिभ होइन, वैचारिक हिसाबले अगाडि बढ्नुपर्छ । पात्र होइन, राजनीतिक संस्कार चित्त बुझेको छैन । हामी सबैलाई झोले बनाइएको छ,’ सुमनाले भनेकी छिन्, ‘चित्त नबुझेकाहरू एक ठाउँमा आउनैपर्छ । नयाँ फोर्स आउँदा घाटा हुने भएकाले एकपछि अर्को आक्रमण हुन्छ । यस्तोमा एकजना लड्ने कि सामूहिकतामा जाने ? राजनीतिक संस्कारसँग चित्त नबुझेपछि संवाद गर्नुपर्छ ।’
सुमनाले खुलेरै आगामी चुनाव कहाँबाट उठ्ने प्रस्ट नभएको बताएकी छिन् । तर, पुरानो राजनीतिक प्रणालीविरुद्ध बालेनसहितको शक्तिसँग मिल्नुपर्ने उनको संकेत छ । ‘८४ मा म चुनावमा उठ्छु कि उठ्दिनँ, उठे कहाँबाट भनेर सोचेकी छैन । जति पात्रले देश विकास गर्छु भनेका छन्, त्यो भएको छैन,’ सुमनाको भनाइ छ, ‘पुरानो संस्कारले भएन भन्नेहरू सबैजना एक ठाउँमा आउनुपर्छ । फोरम र अलायन्स बनाएर बेथितिविरुद्ध लड्नुपर्छ । यसमा दुई मत छैन ।’
राजनीतिक विश्लेषक कृष्ण पोखरेल परम्परागत दलले डेलिभरी दिन नसकेको नारा अगाडि सारेर आएको रास्वपा पार्टीका रूपमा संगठित हुन संघर्षरत रहेको बताउँछन् ।
‘रास्वपा अहिलेका दलले एड्रेस गर्न सकेनन् भनेर ‘जान्नेलाई छान्ने’ नाराका साथ अगाडि बढ्दै आएको हो । अरूले शासनको खुबी देखाउन सकेनन् भनेर चुनावको ६ महिना अगाडि पार्टी बनाउनेतिर अघि बढ्यो । तर, रास्वपाले पार्टीको रूपमा एउटा सर्कल पूरा गरिसकेको छैन । पार्टी बनिसकेको छैन,’ पोखरेलले भने, ‘असन्तुष्ट भएकालाई एक ठाउँमा ल्याएर पार्टी बन्न खोज्यो । तर, स्पष्ट वैचारिक धार भएन ।’
धरातल नै कमजोर हुनुका बावजुद रास्वपाले उपलब्धि देखाए पनि टिकाउने अग्रसरता नदेखाएको उनी बताउँछन् ।
‘मूलधारका दलले डेलिभरी दिन सकेनन् भनेर आएको रास्वपाले शुरूआतको ६ महिनामै चुनावमा सनसनी मच्चायो । उपलब्धि देखायो । काठमाडौं, चितवन र राष्ट्रपतिको चुनाव क्षेत्रमा जित्यो । जुन परिणाम ऐतिहासिक हो । यसले जनताको नाडी राम्रैसँग छामेको छ भन्ने पनि देखायो,’ पोखरेल भन्छन्, ‘तर, पार्टी भएपछि धरातल बलियो हुँदै जानुपर्थ्यो । आफ्नो लोकप्रियतालाई संगठनमा बदल्न सकेन । आन्दोलनमा संगठन बन्न जरुरी हुन्छ । तर, रास्वपा यसबाट गुज्रिरहेको छ । संगठन निर्माणको पीडाबाट गुज्रिएको छ । अहिले देखिएका समस्या यिनै हुन् ।’
पार्टीलाई आफ्नै ब्रान्डमा अगाडि बढाए पनि सभापति लामिछाने नै पटक–पटक विवाद र कारबाहीको गोलचक्करमा फस्दा रास्वपा समस्यामा जेलिएको पोखरेल बताउँछन् ।
‘सभापति लामिछानेको एकल बोली, अभियान र ब्रान्डमा रास्वपा बन्यो । यसको मियो नै उनै हुन् । उनैले रास्वपालाई यहाँसम्म ल्याए,’ पोखरेल भन्छन्, ‘रवि कारवाहीमा परेपछि अहिलेका संकट आएका हुन् । यसैले रास्वपाले पार्टीलाई संगठनमा ढाल्न सके आउने चुनौतीलाई सामना गर्न सक्छ । गर्न नसके कुनै नतिजा दिन सक्दैन ।’






























