रसुवा : सोमबार बिहानैदेखि चीनतर्फको अविरल वर्षाका कारण रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुलमा क्षति पुऱ्याएको छ। यस्तै, नुवाकोटको त्रिशूली नदीमा आएको भीषण बाढीका कारण दुईजना रुखमा फसेका छन्।
रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित तातोपानी नाकामा रहेको मितेरी पुलमा बाढीले भौतिक संरचनामा असर पुऱ्याएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बाढी सोही वडाको टिमुरेमा रहेको भन्सार वार्डमा समेत पसेको छ, जसले गर्दा केही मालबाहक कन्टेनरहरू बगाएको छ। बिहान अन्दाजी ३:१५ बजे आएको बाढीले हालसम्म कुनै मानवीय क्षति भने भएको छैन।
यसैबीच, नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ४ मा दाउरा खोज्न गएका मंगली तामाङ र पाल्तेन तामाङ त्रिशूली खोलामा आएको बाढीका कारण रुखमा फसेका छन्। उनीहरूले रुखमा बसेर आफ्नो ज्यान बचाइदिन गुहार मागिरहेको बताइएको छ।
जल तथा मौसम विज्ञान विभागले नुवाकोटको बेत्रावतीस्थित त्रिशूली नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरिसकेको र बढ्दो क्रममा रहेको जनाएको छ।
अधिकारीहरूले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। नदीमा पानीको बहाव अझै उच्च रहेकाले जोखिम कायमै रहेको सूचना जारी गरिएको छ।



























