समाजवादी मोर्चालाई पार्टीमा रूपान्तरण गर्ने तयारीमा छन् । दसैँका बिचमा एकताको घोषणा गर्ने अन्तिम तयारीमा माओवादी, एकीकृत समाजवादी, नेकपा र नेसपा जुटेका छन् । तर, यसबारे मोर्चाका नेताहरू औपचारिक रूपमा बोल्न खोज्दैनन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकमै समाजवादी मोर्चाका घटकसँग पार्टी एकतासँगै देशभक्त र परिवर्तनका पक्षधरसँग बृहत् मोर्चा बनाउने प्रस्ताव गरेका छन् । बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्न तयार राजनीतिक प्रतिवेदनमा उनले पार्टी एकता र बृहत् मोर्चाको प्रस्ताव गरेका हुन् ।
एकताको विषयमा समाजवादी मोर्चाका घटकहरूबिच पटक–पटक छलफलसमेत भइसकेको छ । मोर्चाका घटक एकीकृत समाजवादी, नेकपा र नेसपाले पनि विचार मिल्ने दलहरूसँग एकताका लागि पहल गर्ने निर्णय गरिसकेका छन् । स्रोतहरूका अनुसार यही दसैँमा एकता घोषणा गर्ने र आगामी मंसिरमा एकता महाधिवेशन गर्ने गृहकार्य छ ।
‘समाजवादी मोर्चालाई एकतामा रूपान्तरण गर्न विशेष पहल गर्ने, विचार मिल्ने अन्य दलसँग पनि एकताका लागि पहल गर्ने भन्ने हो,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने, ‘देशभक्त र परिवर्तनका पक्षधरसँग बृहत् मोर्चा बनाउन पनि पहल गर्ने विषय छ ।’
एकीकृत समाजवादीको गत शुक्रबार बसेको सचिवालय बैठकले चुनौतीपूर्ण अवस्थामा कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिको उपलब्धिको रक्षाका लागि सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेको थियो । ‘हाम्रो पार्टीले अँगालेको नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न पहलकदमी अघि बढाउने निर्णय भएको छ,’ एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भने ।
विप्लव नेतृत्वको नेकपाले पार्टी एकताको पहल गर्न प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । नेकपाको केन्द्रीय समिति बैठकले बनाएको समितिमा नेताहरू अनिल शर्मा र कर्णजित बुढाथोकी सदस्य छन् । ‘परिस्थिति फेरिएको छ । विचार, सिद्धान्त मिल्ने दलहरू एक भएर जानुपर्ने आवश्यकता छ । त्यसका लागि हामी एजेन्डा बनाएर छलफल गर्छौँ,’ उनले भने ।
नेसपा अध्यक्ष महिन्द्र राय यादवले समाजवादी मोर्चाका घटकबिच एकताको विषयमा छलफल हुँदै आएको बताउँदै वर्तमान परिस्थितिमा एकताको आवश्यकता झन् बढेर गएको बताए । उनले एकता र सहकार्यको नीतिअनुसार पार्टी अगाडि बढ्ने बताए । ‘समाजवादी मोर्चाका घटकबिच एकताको विषयमा पहिलेदेखि नै छलफल हुँदै आएको हो । अहिलेको अवस्थामा एकता र सहकार्यको झन् बढी आवश्यकता भएको छ,’ उनले भने ।
माओवादी केन्द्रीय समितिका एजेन्डा तय माओवादीको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको छ । बुधबार बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति भंग गरी महाधिवेशनमा जानेसहितका एजेन्डा तय गरेको हो । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस, प्रतिवेदनमाथि छलफल, विशेष महाधिवेशन, प्रतिनिधिसभा निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्धलगायत एजेन्डा तय भएको छ । प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने प्रस्ताव पनि बैठकमा पेस हुनेछ । आगामी महाधिवेशनमा एकता महाधिवेशन हुने माओवादी स्रोतले जनाएको छ । केन्द्रीय समिति विघटन र महाधिवेशनको प्रस्ताव गरिए पनि मिति भने प्रस्ताव भएको छैन । केन्द्रीय समिति बैठकले मिति तय गर्नेछ ।
बैठकमा प्रचण्डले जेन–जी आन्दोलनको माग ठिक भए पनि साम्राज्यवादी र दलालहरूले घुसपैठ गरेको बताएका छन् । ‘जेन–जीका माग जायज थिए । उनीहरूले शान्तिपूर्ण आन्दोलन सुरु गरेका थिए । तर, पछि साम्राज्यवादी र दलालहरूको घुसपैठ भयो । जसको कारण यो परिणाम आयो । अब हाम्रो मुख्य लडाइँ राष्ट्रिय स्वाधीनताका लागि हुनेछ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने । छलफलका लागि प्रदेशगत रूपमा समूह बनाइनेछ । समूहगत छलफलको निष्कर्ष हलमा प्रस्तुत हुने र अध्यक्षले संश्लेषण गर्दै बैठक समापन गर्ने तयारी छ ।
माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले केन्द्रीय समिति बैठकको समय र फरक मतबारे प्रश्न उठाएका छन् । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बुधबार बसेको स्थायी समिति बैठकमा बैठक लम्ब्याउनुपर्ने र फरक मत राख्न पाउनुपर्ने विषय दुवै नेताले उठाएका थिए । बैठकमा अध्यक्ष प्रचण्डले नौवटा एजेन्डा पेस गरेका थिए । तर, बैठक बिहीबार एक दिन मात्रै बस्ने भनेपछि श्रेष्ठ र शर्माले समय नपुग्ने भन्दै प्रश्न उठाएको एक स्थायी समिति सदस्यले बताए । श्रेष्ठले फरक मतमाथि छलफल गरेर जानुपर्ने मत राखेका छन् । ‘बैठक बोलाएपछि गहन छलफल हुनुपर्छ । फरक मतलाई पनि स्थान दिनुपर्छ । हतारमा बैठक बोलाउने र सक्ने कुरा ठिक होइन,’ श्रेष्ठको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने ।
शर्माले गत पदाधिकारी बैठकमा वरिष्ठ नेतालाई संयोजक बनाएर विशेष महाधिवेशनमा जानुपर्ने लिखित प्रस्ताव गरेका थिए । स्थायी समिति बैठकमा पनि उनले उक्त विषय उठाएका छन् । र, गहन छलफल गर्न एक दिनको समयले नपुग्ने उनको जिकिर छ । ‘एक दिनले भ्याइँदैन । बैठक दुई दिन गरौँ । सबै विषयमा गहन छलफल गरौँ । कम्तीमा फरक मतमाथि छलफल हुनुपर्छ,’ शर्माको भनाइ उद्धृत गर्दै ती नेताले भने । तर, प्रचण्डले समूहगत रूपमैै धारणा बनाएर राख्न सकिने बताएका छन् । ‘केही छ भने समूहगत रूपमा छलफल गरेर हलमा ल्याउन सकिन्छ । बैठक एक दिनभन्दा बढी लम्ब्याउने अवस्था छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने । प्रचण्डले प्रस्ताव गरेका एजेन्डा अनुमोदन गर्दै स्थायी समिति बैठक समापन गरिएको छ ।





























