२३ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा ब्युताउन नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन जारी छ । यही कात्तिक २० गतेदेखि हस्ताक्षर संकलन सुरु भएको हो ।
२० जना भन्दा बढीको हस्ताक्षर संकलन भएको भनिएको छ तर, यकिन संख्या सार्वजनिक गरिएको छैन ।
निवर्तमान सांसदहरू जिल्ला–जिल्लामा रहेका र पार्टीको वडा/पालिकास्तरीय कार्यक्रममा समेत व्यस्त रहेकाले काठमाडौंमा उपलब्ध निवर्तमान सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् ।
एमालेले गत शुक्रबार वडास्तरीय भेला गरेको थियो । यही कात्तिक २५ गते पालिकास्तरीय भेला गर्दैछ । त्यसपछि जिल्लास्तरीय सभा र आगामी मंसिर ६ गते काठमाडौंमा प्रदर्शनको आयोजना गर्दैछ । यी भेला र प्रदर्शनमार्फत एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि दबाब दिने नीति लिएको छ । साथै महाधिवेशनको तयारी समेत भनिएको छ ।
नेताहरूका अनुसार सर्वोच्च अदालतमा समेत प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरू कति जना छन् जस्ता प्रश्न उठेकाले निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन सुरु गरिएको हो ।



























