काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपदमा परेका नागरिकको तत्कालै उद्धार गर्नका लागि दुई वटा हेलिकप्टर तयारी हालतमा राखिने बताएका छन् । चैत १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री गुरुङले सो कुरा बताएका हुन् ।
विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो ज्यानको प्रवाह नगरी नागरिकहरुको उद्धार कार्यमा खटिएकोमा उनले धन्यवाद समेत दिए ।
आम नागरिकको जीउ ज्यान भन्दा ठूलो पैसा नभएको उल्लेख गर्दै उनले आपत विपदमा परेका नागरिकहरुको सेवा सुरक्षा गर्नका लागि नेपाल सरकार, गृहमन्त्रालय लगायत सुरक्षाकर्मीहरु तयारी हालतमा रहन निर्देशन समेत दिए ।
केही वर्ष अगाडि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विपद् व्यवस्थापन सम्बन्धी तालिम समेत लिएको स्मरण गर्दै गृहमन्त्री गुरुङले कोभिड–१९ महामारी र सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राख्ने जस्ता कार्यमा सशस्त्र प्रहरीसँग नजिक भएर काम गरिसकेको हुँदा सुरक्षार्मीको काम, कर्तव्य र अधिकार तथा दु:ख कस्तो हुन्छ भन्ने बारेमा समेत जानकार रहेको बताए ।
गृहमन्त्री गुरुङले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई विपद् शुरु हुनु आगाडि नै तयारी हालतमा रहन निर्देशन दिए । सशस्त्र प्रहरी बल नेपालको जनशक्ति अब व्यारेकमा नभई फिल्डमा हुनुपर्ने बताउँदै उनले विपद् व्यवस्थापनका लागि भरपुर मेहनत गर्नुपर्ने धारणा राखे ।
गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा तस्करी रोक्नका लागि मन्त्रालय कठोर भएर अगाडि बढ्ने बताए ।कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरी नायव महानिरीक्षक बिष्णु प्रसाद भट्ट, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, बंशीराज दाहाल, गणेश बहादुर ठाडामगर को उपस्थिति रहेको छ ।

























