१७ वैशाख, रुकुमपश्चिम । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश ल्याउने र बोलाइसकेको संसद् बैठक स्थगित गर्ने सरकारको निर्णय असंवैधानिक रहेको बताउनु भयो ।
आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाने क्रममा रुकुमपश्चिम पुगेका प्रचण्डले मुसिकोटमा पत्रकारसँग कुरा गर्दै निर्वाचन र यसको परिणामलाई असामान्य र अस्वाभाविक भनेका हुन् ।
‘परिणाम जस्तो आएको छ, त्यो पनि कयौं ठाउँका रिपोर्टहरू सुन्दा सहज किसिमले आएको देखिँदैन । कतिपय ठाउँमा स्वयं उम्मेदवारले आफूले हालेको भोट पनि आफूलाई नपरेको, कतिपय ठाउँमा जित्दै जित्दैन भनेकाले पनि यति धेरै भोट कसरी आयो भनेका जस्ता, कतिपय ठाउँमा चाहिँ भोट हाम्रो धेरै पो थियो त कता हरायो भन्या जस्ता रिपोर्टहरू पनि आए, त्यसलाई हामीले समीक्षा गर्दा यो निर्वाचन सामान्य निर्वाचन होइन’, उनले भने ।
यसको अध्ययन र अनुसन्धान अझै गहिरो रूपमा गर्नुपर्छ भन्ने आफ्नो पार्टीको निष्कर्ष रहेको उनले बताए । यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झन्डै २ तिहाइको मतलाई भने आफूहरूले स्वीकार गरेको पनि उनले बताए ।
प्रचण्डले आफ्नो पार्टीले सरकारले गर्ने राम्रा कामको समर्थन र नराम्रा काममा आलोचना गर्ने तथा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए ।
उनले नेकपाले अब युवाहरूलाई विशेष प्राथमिकता दिने बताए । वडादेखि केन्द्रसम्म निर्वाचनबाट नेतृत्व चयन हुने र प्रत्येक कमिटीमा ५० प्रतिशत युवा र नव युवाको प्रतिनिधित्व रहने उनले बताए ।
संयोजक प्रचण्डले सिङ्गो कम्युनिस्ट आन्दोलनको पुनर्गठन आवश्यक रहेको बताए । ‘हाम्रो पार्टी मात्र राम्रो बनाएर हुँदैन, नेपालको सिंगाे कम्युनिस्ट आन्दोलनको पुनर्गठन आवश्यक छ, अहिलेको निर्वाचनमा कम्युनिस्टले पाएको धक्कालाई ध्यानमा राखेर सिंगाे कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने गरी पार्टीको विस्तारित बैठकले निर्णय गरेको छ, यसका लागि पहल सुरु भइसकेको छ’, उनले भने ।
यसैबिच उनले सरकारले गरेका पछिल्ला निर्णयहरूको विरोध समेत गरे । सुकुमवासीलाई बल प्रयोग गरेर हटाउने, ट्रेड युनियन खारेज, विद्यार्थी सङ्गठनमाथिको प्रहार, पनि असंवैधानिक रहेको उनले बताए ।
पछिल्ला केही कदमले सरकार निरङ्कुशतातर्फको यात्रा हुनसक्ने देखिएको भन्दै उनले सरकारलाई सच्चिन आग्रह समेत गरे । उनले आफू अहिलेको सरकारको अभिभावक रहेको भन्दै उनले नराम्रा काममा सधैँ खबरदारी गरिरहने पनि बताए ।
























