१५ असार अछाम :नेपाल शिक्षक संघ अछामका अध्यक्ष नविन्द्रराज जोशीको रुखबाट खसेर निधन भएको छ। साँफेबगर–१ निवासी जोशीको आँपको रुखबाट खसेर निधन भयको हो । उनी मष्टामाण्डौ आधारभूत विद्यालय चौरपाटी–४ पायलको प्रधानाध्यापकका रुपमा कार्यरत थिए ।
आइतबार आँप टिप्न रुखमा चढेका बेला खसेर घाइते भएका जोशीलाई उपचारका लागी बयालपाटा अस्पताल ल्याइएको थियो । अस्पताल ल्याइएका जोशीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ओमप्रकास खनालले बताए ।
सोमबार बिहान जिल्ला अस्पताल मंगलसेन पुगेर यहाँका विभिन्न सरोकारवालाहरुले मृतक जोशीको पार्थिव शरीरमा फुल, अबिर सहित अन्तिम श्रद्धाञ्जली दिएका छन् । मृतक जोशीको शव जिल्ला अस्पताल मंगलसेनमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । शैक्षिक क्षेत्रको विकासका लागी लामो समय संघर्ष गरेका जोशीको निधनले जिल्लाको शैक्षिक क्षेत्रमा ठुलो क्षति पुगेको भन्दै जिल्ला स्थित सरोकारवालाहरुले दुख व्यक्त गरेका छन् ।





























