काठमाडौं
नेकपा (एकीकृत समाजवादी) का सचिव सोमप्रसाद पाण्डेले आफूहरु प्रतिपक्षमा रहेको भएपनि देश र जनताको हितमा रहेका सरकारको हरेक कार्यक्रममा सहयोग गर्न तयार रहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले देश र जनताको हितमा रहेको सरकारको कार्यक्रमलाई सहयोग गर्न तयार रहेको घोषणा यसअघि नै गरिसकेको बताए । उनले अहिले सरकारले ल्याएको अध्यादेशको बारेमा भने कुनै सल्लाह नै नभएको बताए । ‘यदि मुलुक र जनताको हितमा वर्तमान सरकारले कुनै कार्यक्रम ल्याउँछ भने हामी प्रतिपक्षमा रहेपनि हाम्रो सहयोग रहन्छ भन्ने हाम्रो पहिलाकै घोषणा हो । तर, अहिलेको विषयमा केही छलफल नै भएको छैन,’– उनले भने ।
नेता पाण्डेले मुलुकलाई निकास दिने कुरामा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भुमिका महत्वपूर्ण रहेको उनले सुनाए । विगतमा संविधान सभाको निर्वाचन हार्दा पनि माधव नेपालको आवश्यकता देखेर नै पुन ल्याइएको बताए । उनले माधव नेपाललाई अप्ठ्यारोको निकासको संज्ञा दिए । ‘अप्ठ्यारो पर्दाखेरी जहिले पनि निकास निकालेको इतिहास त छदै छ । चाहे संविधान बनाउँदो होस्, संविधान सभाको निर्वाचनमा हारिसकेपछि पनि उहाँलाई इच्छा, चाहना थिएन कि फेरि संविधान सभाको सदस्य बनौं । त्यहाँको अप्ठ्यारो परिस्थितिले उहाँलाई संविधान सभाको सदस्य बनाउनुपर्ने भयो । लगिएको थियो । त्यसपछिका पनि कतिपय घटना हेर्नुभयो भने संकटको घडीमा अप्ठ्यारो बेलामा अनि मुलुक र जनताको हितमा गरिने हितको निम्ति र राष्ट्र र जनताको हितमा गरिने काममा माधव नेपाल आवश्यक पर्ने कुरा हामीले विगतदेखि देखेका छौं । कुनै अप्ठ्यारो कुरामा निकास निकाल्ने कुरामा उहाँले सहयोग गरेको, त्यसमा चाहीँ उहाँ मुख्य पत्र बनेको विगतदेखि नै महशुस गरेको कुरा हो,’– उनले भने ।
अध्यादेशको बारेमा आफूहरुको कतिपय विमति रहेको पनि उनले सुनाए । सदनमा छलफल भइरहेको विधेयकको सन्दर्भमा पनि अध्यादेश ल्याउनु गलत रहेको उनको भनाइ छ । उनले अध्यादेश ल्याउनुअघि आफूहरुसँग कुनै छलफल नै नगरिएको भन्दै आक्रोशसमेत व्यक्त गरे । उनले भने, ‘अहिलेको हकमा हामीले अध्यादेशको बारेमा छलफल गरेका छैनौं । किन गरेका छैनौं भने अध्यादेश अहिले कतिपय कानुनविपरीत भयो । सदनमा छलफलकै रुपमा रहेका कतिपय कानुनहरु अध्यादेशबाट ल्याइयो । त्यो बाटो मिचिएको छ । दोस्रो कुरा कतिपय विषयमा साझा धारणा बन्नुपर्यो । पहिले नै छलफल गरेको भए एउटा निष्कर्षमा पुग्न सकिन्थ्यो । मुलुकको हितमा, नेपाली जनताको हितको निम्ति त हामी सहयोग गर्न तयार छौं । सरकारले सल्लाह गरेर अगाडि बढ्नुपर्थ्यो भने यो भन्दाअघि किन सहयोग गरेन ?’
साथै, उनले अध्यादेशमा सहयोग माग्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रस्ताव आउनु उपयुक्त हुने बताए । हिजोको सम्बन्ध र पार्टी निर्माणको हिसाबले पनि प्रधानमन्त्री ओलीबाट प्रस्ताव आउनुपर्ने उनको धारणा छ । सत्ता सञ्चालन गर्ने मान्छे थोरै लचिलो पनि हुनुपर्ने उनले बताए । ‘अहिले संकट पर्यो, अप्ठ्यारो पर्यो, उहाँहरुले यी कुरा राख्नु भएको छ । तर, यही कुरा किन प्रधानमन्त्री बाट आएन ? आउनुपर्ने त प्रधानमन्त्रीबाट हो नि । हिजोको सम्बन्धको हिसाबले, पार्टी निर्माणको हिसाबले,’– उनले बताएकाहुन ।