१८ जेठ, काठमाडौं । गत १० जेठको राति काठमाडौंबाट बेइजिङ उडेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोली एक साता लामो भ्रमण सकेर स्वदेश फर्किंदैछ ।
चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले शनिबार महत्वपूर्ण र उच्च तहको भेटवार्ता गरिन् । केही दिनदेखि गान्सु प्रदेशमा रहेकी भण्डारीले चीनका उपराष्ट्रपति हान चेङसँग शनिबार भेटवार्ता गरेकी हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का शीर्ष नेता चेङसँगको भेटवार्ता निश्चित थिएन, सम्भावित सूचीमा मात्र थियो । चीन सरकारका दोस्रो बरियताका चेङ सीपीसीका शीर्ष पंक्तिका नेता हुन् । सात सदस्यीय स्थायी कमिटीका पूर्वसदस्य चेङ सीपीसीमा आठौं बरियताका नेता हुन् ।
उनै चेङले पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुलाई चिनियाँ पक्षबाट यो भ्रमणलाई उच्च महत्व दिएको रूपमा बुझ्नुपर्ने कूटनीतिज्ञहरू बताउँछन् । ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले न सरकारको प्रतिनिधित्व गर्नुहुन्छ, न एमाले नेताकै,’ एक कूटनीतिज्ञ भन्छन्, ‘तर चीनमा अहिले उहाँलाई नेपाल सरकारका प्रतिनिधि र एमाले नेताको हैसियत दिए जस्तो देखिन्छ ।’
परराष्ट्र मामलाका जानकार एवं एमाले नेता विष्णु रिजाल चीनले यो भ्रमणलाई उच्च महत्व दिएको बताउँछन् । यद्यपि, उनको तर्क फरक छ । ‘यो भ्रमणलाई चीनले उच्चस्तरको सम्मान दिएको पक्कै हो । तर यो सम्मानलाई नेपाल राष्ट्र, नेपाली जनता र गणतन्त्रका लागि दिइएको सम्मानका रूपमा बुझ्नुपर्छ,’ एमालेका विदेश विभाग पूर्वउपप्रमुख रिजाल भन्छन् ।
एमाले नेताहरूले भण्डारी नेतृत्वको टोलीले पाएको सम्मान र महत्वलाई पूर्वराष्ट्रपतिका हैसियतमा बुझ्नुपर्ने प्रष्टोक्ति दिइरहेका छन् ।



























