६ पुस, काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्त्वपूर्ण अंग र कार्यक्रमका रूपमा अघि बढाएको बताएकी छन् ।
विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।उनले परम्परागत चिकित्सा पद्धतिबारे कुनैपनि मन्त्रालयको नेतृत्व भएन भन्ने गुनासो आए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व गर्दै आइरहेको बताइन् ।
आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिका लागि यथोचित बजेट पनि छुट्याइएको उनको जिकिर छ ।राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवं पञ्चवर्षीय रणनीति र कार्यनीतिहरूमा पनि आयुर्वेदका कार्यक्रमहरू परेको बताइन् ।
‘परम्परागत चिकित्सा पद्धतिको बारेमा कुनैपनि मन्त्रालयको नेतृत्व भएन । नयाँ मन्त्रालय भइदिए हुन्थ्यो भन्नेखालका कुरा पनि आयो । परम्परागत चिकित्सा पद्धतिलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महत्त्वपूर्ण अंग र कार्यक्रमका रूपमा अघि बढाएको छ । त्यसमा यथोचित बजेटहरू विनियोजन भएका छन्,’ उनले बताइन् ।
मन्त्री गौतमले आयुर्वेद, योग, ध्यान, धामी, झाँक्री परम्परागत चिकित्सा पद्धति भएको बताइन् । परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्त्वपूर्ण कार्यक्रमका रूपमा अघि बढाएको बताइन् ।

























