स्पेसएक्सले बजार पूँजीकरणका आधारमा माइक्रोसफ्टलाई पछि पार्दै अमेरिकाको चौथो ठूलो कम्पनी बन्ने ऐतिहासिक सफलता हासिल गरेको छ ।
स्पेसएक्सले ६० अर्ब डलरको सम्झौता गर्दै एआई कोडिङ कम्पनी कर्सरलाई अधिग्रहण गरी प्रविधि क्षेत्रमा आफ्नो पकड बलियो बनाएको छ ।
आईपीओपछिको उच्च वृद्धि र एआईमाथिको आक्रामक लगानीका कारण स्पेसएक्स लगानीकर्ताको प्रमुख रोजाइमा पर्न सफल भएको छ ।
एलन मस्कलाई विश्वकै पहिलो र एकमात्र ट्रिलेनियर व्यक्ति बनाउन भूमिका खेलेको स्पेस एक्स कम्पनी अमेरिकाको चौथो ठूलो कम्पनी बन्न सफल भएको छ ।
मंगल प्रविधि जगतको दिग्गज कम्पनी माइक्रोसफ्टलाई पछि पार्दै स्पेस एक्सले इतिहास रचेको हो ।
मंगलबार कम्पनीको शेयर मूल्यमा भएको उल्लेखनीय वृद्धिसँगै स्पेसएक्सले बजार पूँजीकरण (मार्केट क्याप) का आधारमा माइक्रोसफ्ट र अमेजनलाई उछिनेको थियो ।
करिब ३ ट्रिलियन डलर बजार मूल्य सहित स्पेसएक्स अमेरिकाको चौथो ठूलो कम्पनी बनेको थियो । त्योसँगै स्पेसएक्सले ई कमर्स दिग्गज अमेजनसँगको अन्तरलाई पनि फराकिलो बनाएको थियो ।
गत मंगलबार माइक्रोसफ्टको बजार पुँजीकरण २.९० ट्रिलियन डलर पुगेको थियो भने अमेजनको बजार पुँजीकरण करिब २.६५ ट्रिलियन डलर पुगेको थियो ।
यद्यपि तत् पश्चात् स्पेस एक्सको शेयर मूल्यमा केही गिरावट आयो र कम्पनी पाँचौ स्थानमा झर्नुपर्यो ।
नेपाली समय अनुसार बुधबार बेलुकीको तथ्यांक अनुसार हाल अमेरिकामा सबैभन्दा ठूलो बजार मूल्य भएको कम्पनी एनभिडिया हो । जसको बजार पुँजीकरण ५.०६ ट्रिलियन डलर छ । दोश्रो स्थानको अल्फाबेटको बजार पुँजीकरण ४.४६ ट्रिलियन डलर हुँदा एप्पलको ४.४२ ट्रिलियन डलर रहेको छ ।
त्यस्तै माइक्रोसफ्टको २.८८ ट्रिलियन र स्पेस एक्सको २.७२ ट्रिलियन डलर कायम भएको छ ।
आईपीओपछि लगानीकर्ताको पहिलो रोजाइ
शेयर बजारमा स्पेसएक्सको यात्रा निकै रोमाञ्चक र ऐतिहासिक बनेको छ ।
गत शुक्रबार भएको यसको रेकर्ड ब्रेकिङ आईपीओपछि कम्पनी लगानीकर्ताको आकर्षणको केन्द्र बनेको छ ।
कारोबारको पहिलो दिनमै कम्पनीको शेयर मूल्य २० प्रतिशतले उकालो लागेपछि मंगलबारको प्रारम्भिक कारोबारमा पनि करिब ८ प्रतिशत वृद्धि देखिएको थियो।मंगलबार स्पेस एक्सको शेयर मूल्य अधिकतम २२९.८५ डलरसम्म पुगेको थियो। शेयर मूल्य ३ सय ३३ डलर नाघेको खण्डमा स्पेस एक्सले एप्पललाई पनि पछि पार्नेछ ।
एआई क्षेत्रमा स्पेस एक्सको आक्रामक लगानी
लगानीकर्ताको यो उत्साह केवल स्पेसएक्सको अन्तरिक्ष वा स्याटेलाइट व्यवसायका कारण मात्र होइन । आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा कम्पनीले चालेका आक्रामक कदमहरुसँग पनि उसको सफलता जोडिएको छ ।
स्पेस एक्सले मंगलबार नै ६० अर्ब डलरको अल स्टक सम्झौता अन्तर्गत तीव्र गतिमा लोकप्रिय बन्दै गएको एआई कोडिङ कम्पनी कर्सरलाई अधिग्रहण गर्ने औपचारिक घोषणा गरेको छ ।
सफ्टवेयर विकासको क्षेत्रमा कर्सर चर्चित नाम बनिसकेको छ । यो यस्तो आधुनिक उपकरण हो जसले स्वचालित रूपमा कोड लेख्न सक्छ र सफ्टवेयर विकासमा मानिसलाई सहयोग गर्छ । बजारमा यसको प्रत्यक्ष प्रतिस्पर्धा क्लाउड कोड र कोडेक्सजस्ता लोकप्रिय एआई प्रडक्टहरूसँग रहेको छ ।
फर्च्युन ५०० सूचीमा रहेका ६४ प्रतिशत ठूला कम्पनीहरूले आफ्ना व्यवसायिक सफ्टवेयर विकासका लागि कर्सरको प्रयोग गरिरहेका छन् ।
स्पेसएक्सले गत अप्रिलमै कर्सर खरिद गर्ने अधिकार प्राप्त गरेको जानकारी दिएको थियो । यो अधिग्रहणपछि सफ्टवेयर विकास तथा अटोमेसनको क्षेत्रमा स्पेसएक्सको क्षमता थप बढ्ने अपेक्षा गरिएको छ । यसले एआई क्षेत्रमा चलिरहेको तीव्र प्रतिस्पर्धामा कम्पनीको स्थिति अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
कर्सर खरिदको सम्झौतालाई एलन मस्कको एआईप्रतिको आक्रामक लगानी रणनीतिको एक हिस्सा मानिएको छ । तथ्याङ्कअनुसार स्पेसएक्सले सन् २०२५ मा एआईसँग सम्बन्धित परियोजनाहरूमा १२.७ अर्ब डलर खर्च गरेको थियो । त्यसपछि सन् २०२६ को पहिलो त्रैमासिकमै कम्पनीले थप ७.७ अर्ब डलर लगानी गरिसकेको छ । एजेन्सी































