२ कात्तिक, काठमाडौं । आगामी अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचनको ठीक नौ दिन बाँकी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रत्यक्ष तथा औपचारिक रूपमा समर्थन घोषणा गरेका छन् ।
अमेरिकी र इजरायली कूटनीतिक इतिहासमा कुनै पनि अमेरिकी राष्ट्रपतिले इजरायली चुनावमा प्रत्यक्ष रूपमा कुनै उम्मेदवारलाई सार्वजनिक समर्थन गरेको यो पहिलो घटना हो।
अधिकांश जनमत सर्वेक्षणहरूमा नेतान्याहुको गठबन्धन सरकार गठनका लागि आवश्यक ६१ सिटभन्दा पछाडि पर्ने देखाइरहेका बेला ट्रम्पको यो अप्रत्याशित समर्थनले राजनीतिक सङ्घर्ष गरिरहेका नेतान्याहुलाई ठूलो राहत दिएको छ।
आइतबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोष्ट गर्दै ट्रम्पले नेतान्याहुलाई ‘एक महान् योद्धा प्रधानमन्त्री’ र इरानविरुद्धको युद्धमा ‘महान् साझेदार’ भनेका छन् ।
‘यदि इजरायलसँग गलत नेता भयो भने अमेरिकाले इरानविरुद्धको कारबाही आफैँ गर्नुपर्नेछ । र म त्यसो गर्न चाहन्नँ। अमेरिकाले इजरायलबाट जस्तो साझेदारको अपेक्षा गरेको छ, नेतान्याहु त्यस्तै साझेदार हुन्। त्यसैले म उनलाई पूर्ण र सम्पूर्ण समर्थन दिन्छु।’
एक्समार्फत प्रतिक्रिया दिँदै नेतान्याहुले ट्रम्पलाई धन्यवाद दिएका छन् र लेखेका छन्, ‘हामी मिलेर यो मिसन पूरा गर्नेछौं।’





























