चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानसँग ‘शान्तिपूर्ण एकीकरण’को लागि आह्वान गरेका छन् ।
बिहीबार बेइजिङमा चिनियाँ क्रान्तिकारी नेता डा. सन यात–सेनको १६० औँ जन्मजयन्ती समारोहमा सम्बोधन गर्दै सीले ‘इतिहासको प्रवाहलाई कसैले रोक्न नसक्ने’ भन्दै शान्तिपूर्ण एकीकरणमा आउन तइवानसँग आह्वान गरेका हुन् । सम्बोधन क्रममा सीले सैन्य बल प्रयोगबारे भने कुनै प्रत्यक्ष कुरा निकालेनन् ।
सीले यस्तो सम्बोधन गरे लगत्तै उता ताइवानले भने तत्कालै प्रतिक्रिया दिए कडा शब्दमा अस्वीकार गरेको छ ।
एक देश, दुई प्रणालीको प्रस्ताव
लोकतान्त्रिक शासन व्यवस्था रहेको ताइवानलाई चीनले आफ्नो अभिन्न भूभाग मान्दै आएको छ ।
बिहीबारको सम्बोधनका क्रममा सीले ‘एक देश, दुई प्रणाली’ को स्वायत्तता मोडेललाई फेरि अघि सारे । यद्यपि बेइजिङले अघि सार्दैआएको यो प्रस्तावलाई ताइवानका कुनै पनि प्रमुख राजनीतिक दलले समर्थन गरेका छैनन् ।
यता सीले ताइवानसँगको एकीकरण चीनका लागि ‘अटल ऐतिहासिक मिसन’ भएको बताएका छन् । ‘इतिहासको प्रवाहलाई रोक्न सकिँदैन । मातृभूमिको पूर्ण पुनःएकीकरण हुनैपर्छ, र यो निश्चित रूपमा पूरा हुनेछ’, सीले भने । सीले चीन ‘शान्तिपूर्ण एकीकरण’प्रति प्रतिबद्ध रहेको पनि बताए ।
‘ताइवान जलमार्गका दुवै किनार एउटै देश हुन् भन्ने एक चीन सिद्धान्तलाई कायम राख्दै ताइवानसँग वार्ता गर्न बेइजिङ तयार छ,’ उनले भने ।
सम्बोधनका क्रममा उनले पृथकतावादी शक्तिहरूको संयुक्त रूपमा विरोध गर्न ताइवान र चिनियाँ नागरिकसँग आग्रह गरे ।ताइवानको कडा प्रतिक्रिया र सैन्य गतिविधि
ताइवान सरकारले राष्ट्रपति सीको अभिव्यक्तिलाई तत्कालै खारेज गरेको छ ।
ताइवानको मुख्यभूमि मामिला परिषद् (मेनल्यान्ड अफेयर्स काउन्सिल) ले न त सरकार न त ताइवानका जनताले नै ‘एक देश, दुई प्रणाली’ स्वीकार गर्नसक्ने बताएको छ ।
सीको अभिव्यक्ति स्वीकार गर्नु अन्ततः चिनियाँ कम्युनिस्ट पार्टीको अधिनायकवादी शासनसामु आत्मसमर्पण गर्नुसरह हुने उनको प्रतिक्रिया छ ।
परिषद्का प्रवक्ता लियाङ वेन–चिएहले पत्रकारहरूसँग भने, ‘ताइवान एकीकरणका बारेमा प्रयोग गरिएका शब्दावलीहरू विगतको भन्दा खासै फरक छैनन् ।’
सीले भाषणमा बल प्रयोगको कुरा उल्लेख नगरे पनि चिनियाँ सेनाले ताइवान टापु वरिपरि दैनिक जसो सैन्य गतिविधि सञ्चालन गर्दै प्रशान्त महासागरमा आफ्नो पहुँच विस्तार गरिरहेको छ ।
ताइवानको रक्षा मन्त्रालयका अनुसार बिहीबारदेखि चिनियाँ युद्धपोतसँगको समन्वयमा जे–१६ लडाकु विमान र ड्रोनसहित २९ वटा चिनियाँ सैन्य विमानहरूले ताइवान वरिपरि गस्ती गरिरहेको फेला परेको छ ।
ट्रम्प–सी भेट र ताइवानको स्थानीय चुनाव
चिनियाँ राष्ट्रपति सीको यो सम्बोधन चीनको दक्षिणी प्रविधि केन्द्र सेन्जेनमा आयोजना हुन लागेको एपेक शिखर सम्मेलनको ठीक एक हप्ताअघि आएको हो ।
अर्को महत्त्वपूर्ण पक्ष ताइवानमा स्थानीय निर्वाचन हुन अब दुई हप्ता समय बाँकी छ ।
सीले सेन्जेनमा हुने एपेक सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
गत महिना ताइवानले आफ्ना नागरिकहरूलाई सन यात–सेनको जन्मजयन्तीका अवसरमा चीनले आयोजना गर्ने कुनै पनि कार्यक्रमबाट टाढा रहन आग्रह गर्दै चीनले उनको विरासत र दृष्टिकोणलाई बङ्ग्याएको आरोप लगाएको थियो ।
डा. सन यात–सेनको विरासत
सन् १९११ को क्रान्तिको नेतृत्व गरेर ‘रिपब्लिक अफ चाइना’ को स्थापना गर्ने डा. सन यात–सेनको विरासतलाई लिएर चीन र ताइवानबीच विवाद छ ।
चीनले सन यात–सेनलाई महान् राष्ट्रिय नायक, देशभक्त र सन् १९४९ को कम्युनिस्ट क्रान्तिको अग्रदूत मान्दछ ।
सीले सनलाई चीनको लोकतान्त्रिक क्रान्तिको महान् नेता बताउँदै उनले सधैँ देशको एकता र राष्ट्रिय अखण्डताको पक्षपोषण गरेको र देश विभाजन गर्ने हरकदमको विरोध गरेको उल्लेख गरे।
ताइवानमा सन यात–सेनलाई आधिकारिक रूपमा ‘राष्ट्रपिता’ मानिन्छ । राष्ट्रपतिको कार्यालयमा उनको तस्वीर झुण्ड्याइएको छ ।
ताइवानका राष्ट्रपति लाई चिङ–ते र उनको सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) ले चीनभन्दा ताइवानको छुट्टै पहिचानको वकालत गर्दै आएका छन् ।
विशेषगरी दोस्रो विश्वयुद्धको विजयको श्रेय बेइजिङले लिन खोजेकोप्रति ताइवान निकै रुष्ट छ । ताइवानका अनुसार त्यतिबेला मित्रराष्ट्रहरूसँग मिलेर ‘रिपब्लिक अफ चाइना’ सरकारले युद्ध लडेको थियो, किनकि त्यस समयमा ‘पिपुल्स रिपब्लिक अफ चाइना’ को अस्तित्व नै थिएन ।
चीनले राष्ट्रपति लाइलाई ‘पृथकतावादी’ भन्दै उनीसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । राष्ट्रपति लाइले भने ताइवानको भविष्यको निर्णय केवल ताइवानका जनताले मात्र गर्न सक्ने अडान दोहोर्याउँदै आएका छन् ।
(एजेन्सीहरूको सहयोगमा)





























