बुधबार दिउँसो करिब साढे ३ बजे सुरु भएको नेकपा संसदीय दलको बैठक साँझ ७ बज्नै लाग्दा सकिएको थियो । करिब साढे तीन घण्टा चलेको बैठकमा मुख्यमन्त्री भट्टले सरकार निर्माणदेखि पछिल्लो राजनीतिक अवस्था, नीति आयोगमा भएको नियुक्ति तथा बजेट निर्माण प्रक्रियाबारे सांसदहरूलाई जानकारी गराएका थिए ।
नेकपा प्रमुख सचेतकसमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम चौधरीले विषय प्रवेश गराएसँगै बैठक सुरु भएको थियो। उपनेतासमेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले बजेट निर्माण प्रक्रिया सुरु भएको जानकारी गराउँदै सबैको साथ र सहयोगको अपेक्षा गरेका थिए ।
त्यसपछि मुख्यमन्त्री तथा संसदीय दलका नेता भट्टले सरकार निर्माणको अवस्थादेखि नीति आयोगमा भएको नियुक्तिसम्मका विषयमा सैद्धान्तिक र वस्तुगत धारणा राखेका थिए । नेकपाबाट मन्त्री बन्नेहरूको नामबारे प्रदेश इन्चार्जसहित पार्टी नेतृत्वलाई जानकारी रहेको भए पनि केन्द्रबाट आएको दबाबका कारण राति नै मन्त्रीहरूलाई शपथ गराउनुपर्ने अवस्था सिर्जना भएको उनले बताएका थिए ।
बैठकमा नेकपाका ९ सांसदले सार्वजनिक गरेको १७ बुँदे राजनीतिक दस्तावेजबारे पनि मुख्यमन्त्री भट्टले धारणा राखेका थिए ।९ सांसदको हस्ताक्षरसहित सार्वजनिक भएको १७ बुँदे दस्तावेज सरकारको विरोधमा नभई सरकारलाई थप जिम्मेवार बनाउन भूमिका खेल्ने विषयका रूपमा आफूले बुझेको मुख्यमन्त्री भट्टले बताएका थिए ।
उनले उक्त १७ बुँदेलाई संसदीय दलको सम्पत्तिका रूपमा ग्रहण गर्ने बताएका थिए । ‘सामाजिक सञ्जालमा आउनुभन्दा मलाई दिएको भए हुन्थ्यो,’ मुख्यमन्त्री भट्टले भनेका थिए, ‘त्यसमा चित्त दुखाउनुपर्ने वा गलत भन्ने विषय छैन । ती बुँदाहरूलाई संसदीय दलको सम्पत्तिका रूपमा लिइनेछ ।’
मुख्यमन्त्री भट्टले आगामी बजेट निर्माणको अवस्था र सांसदहरूले पाउने योजनाको सिलिङबारे पनि सांसदहरूलाई जानकारी गराएका थिए ।
उनले अघिल्लो पटक तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले समानुपातिक सांसदका लागि ५ करोड र प्रत्यक्ष निर्वाचित सांसदका लागि ७ करोड रुपैयाँ बराबरका योजना उपलब्ध गराएजस्तै आफू पनि त्यही आधारमा अघि बढ्ने सङ्केत गरेका थिए । यद्यपि सत्ता गठबन्धनमा रहेका दलहरूलाई समेत समेट्नुपर्ने सुझाव पार्टीबाट आएको उनले बताएका थिए ।
‘३५/३५ र ३० प्रतिशतका योजनाबारे सांसदहरूलाई सिलिङ दिने कुरा गर्नुभयो। पार्टीहरूका योजनासमेत समेट्ने गरी दुवै दलबीच छलफल भइरहेको पनि बताउनुभयो,’ नेकपाका एक सांसदले भने ।
उनका अनुसार सबैलाई समेटेर मुख्यमन्त्री भट्टले छिट्टै बजेट ल्याउने तयारी गरिरहेको सांसदहरूले बुझेका छन् ।
१५ गतेभित्र बजेट ल्याउने तयारी
मुख्यमन्त्री भट्टले आगामी १५ गतेभित्रै बजेट ल्याउने गरी तयारी भइरहेको जानकारी गराएको ती सांसदले बताए । तर विषयगत मन्त्रालयमा सचिव नहुँदा बजेट निर्माणमा केही ढिलाइ हुन सक्ने उनको भनाइ थियो ।
‘एमालेका अर्थमन्त्रीसहित तीन मन्त्री काठमाडौं हुनुहुन्छ। विषयगत मन्त्रालयमा सचिव पनि छैनन् । त्यसैकारण केही ढिला हुन सक्छ। तर मुख्यमन्त्रीज्यूले १५ गतेभित्रै बजेट ल्याउने तयारी गरेको हामीले बुझ्यौं,’ ती सांसदले भने ।
संसदीय दलको बैठकमा मुख्यमन्त्री भट्टले ९ गतेसम्म सबै मन्त्रालयलाई योजना इन्ट्री गर्न निर्देशन दिइसकेको बताएका थिए। उनले सांसदहरूलाई पनि ८ गतेभित्र योजना बुझाउन आग्रह गरेका थिए ।
मुख्यमन्त्रीको ब्रिफिङपछि नेकपाका सांसदहरूले आआफ्ना धारणा राखेका थिए । सांसद नरेश शाहीले आफूहरूले जारी गरेको १७ बुँदे दस्तावेजको विषय उठाएका थिए ।
‘१७ बुँदे राजनीतिक कुरा हो। सरकारलाई असहयोग गर्ने वा दलको नेता फेर्ने कुरा होइन,’ उनले भने। त्यसपछि लक्ष्मी विक, शिवसिंह ओली, मानबहादुर धामी, अक्कल रावल, कैलाश चौधरी, रामेश्वर चौधरीलगायत सांसदहरूले बैठकमा आफ्ना धारणा राखेका थिए।
साढे तीन घण्टा चलेको बैठकमा सांसद र सरकारबीच मन माझामाझ भएको थियो ।




























