पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसको मस्कोमा आयोजित ‘फर द फ्रिडम अफ नेसन्स’ विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय सार्वभौमिकता, आत्मनिर्णयको अधिकार, विश्व शान्ति, सामाजिक न्याय र आर्थिक समानताको विषयलाई प्रमुखताका साथ उठाएका छन्।
प्रचण्डले वर्तमान विश्व व्यवस्था गहिरो रूपान्तरणको चरणमा रहेको, भू-राजनीतिक प्रतिस्पर्धा, व्यापार युद्ध, सैन्य तनाव र बढ्दो आर्थिक असमानताले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा चुनौती थपिरहेको बताए।
उनले नेपालको परराष्ट्र नीतिको मूल मान्यता ‘सबैसँग मित्रता, कसैसँग शत्रुता नगर्ने’ रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्दै सबै देशसँग सन्तुलित तथा मैत्रीपूर्ण सम्बन्ध र विकास सहकार्य अघि बढाउने नेपालको नीति रहेको बताए।
काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं संघीय संसद् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसको राजधानी मस्कोमा आयोजित ‘फर द फ्रिडम अफ नेसन्स’ विश्व सम्मेलनलाई आइतबार सम्बोधन गरेका छन्।
अखिल रूसी राजनीतिक दलद्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय सार्वभौमिकता, आत्मनिर्णयको अधिकार, विश्व शान्ति, सामाजिक न्याय र आर्थिक समानताको विषयलाई प्रमुखताका साथ उठाएका हुन्।
वर्तमान विश्व व्यवस्था गहिरो रूपान्तरणको चरणबाट गुज्रिरहेको उल्लेख गर्दै भू-राजनीतिक प्रतिस्पर्धा, व्यापार युद्ध, सैन्य तनाव र बढ्दो आर्थिक असमानताले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा चुनौती थपिरहेको बताए।
उनले विश्वको राजनीतिक, आर्थिक, वित्तीय तथा सैन्य शक्ति सीमित देशहरूको हातमा केन्द्रित भइरहेका बेला कमजोर तथा विकासशील राष्ट्रहरूले वास्तविक स्वतन्त्रता र सार्वभौमिकताको अभ्यास कसरी गर्न सक्छन् भन्ने प्रश्न महत्वपूर्ण बनेको धारणा राखे।
प्रचण्डले राजनीतिक स्वतन्त्रता प्राप्त हुँदैमा आर्थिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनता सुनिश्चित नहुने उल्लेख गर्दै ऋण निर्भरता, आर्थिक प्रतिबन्ध, प्रविधिमाथिको एकाधिकार, रणनीतिक आपूर्ति शृङ्खलामाथिको नियन्त्रण र बाह्य राजनीतिक हस्तक्षेपलाई नवऔपनिवेशिकताका नयाँ स्वरूपका रूपमा व्याख्या गरे।
उनले राष्ट्रिय सार्वभौमिकता भनेको स्वतन्त्र राज्यको औपचारिक अस्तित्व मात्र नभई जनताले आफ्ना राजनीतिक संस्था, प्राकृतिक स्रोत, आर्थिक नीति र विकासका प्राथमिकतामाथि लोकतान्त्रिक नियन्त्रण कायम गर्न पाउने अधिकारसमेत भएको बताए।
उनले एक्काइसौँ शताब्दीको संघर्ष आर्थिक लोकतन्त्र, प्रविधिगत सार्वभौमिकता र स्रोतसाधनमाथिको राष्ट्रिय नियन्त्रणसँग पनि जोडिनुपर्ने बताए।
विश्व एकध्रुवीय व्यवस्थाबाट बहुध्रुवीय संरचनातर्फ अघि बढिरहेको उल्लेख गर्दै प्रचण्डले चीनको उदय, रूसको बढ्दो अन्तर्राष्ट्रिय भूमिका तथा ग्लोबल साउथका देशहरूबीचको सहकार्यलाई विश्व शक्ति सन्तुलनमा देखिएका महत्वपूर्ण परिवर्तनका रूपमा प्रस्तुत गरे।
Machhapuchhre Bank banner
उनले ब्रिक्स (BRICS), सांघाई सहयोग संगठन (SCO) लगायतका क्षेत्रीय तथा अन्तरक्षेत्रीय पहलहरूले अन्तर्राष्ट्रिय सहकार्यका वैकल्पिक मञ्च निर्माण गरिरहेको बताए।
तर बहुध्रुवीयताको अर्थ एउटा प्रभुत्ववादी संरचनाको स्थानमा अर्को प्रभुत्ववादी संरचना स्थापित हुनु नभएको स्पष्ट पार्दै उनले सबै राष्ट्रको सार्वभौमिक समानता, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र समान अधिकारमा आधारित विश्व व्यवस्था आवश्यक रहेको धारणा राखे।
विश्वका विभिन्न क्षेत्रमा जारी युद्ध र सशस्त्र द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै प्रचण्डले युद्ध तत्काल रोक्न र सबै विवादको समाधान संवाद, कूटनीति तथा शान्तिपूर्ण वार्ताबाट खोज्न आह्वान गरे।
आफ्नो सम्बोधनमा प्रचण्डले नेपालको राजनीतिक परिवर्तनको चर्चा गर्दै तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको दशक लामो जनयुद्धलाई सामन्ती तथा निरंकुश राजतन्त्रविरुद्धको ऐतिहासिक राजनीतिक आन्दोलनका रूपमा व्याख्या गरे।
उनले नेपालको परराष्ट्र नीतिको मूल मान्यता ‘सबैसँग मित्रता, कसैसँग शत्रुता नगर्ने’ रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्दै सबै देशसँग सन्तुलित तथा मैत्रीपूर्ण सम्बन्ध र विकास सहकार्य अघि बढाउने नेपालको नीति रहेको बताए।



























