काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार संखुवासभा र भोजपुरमा निर्माण हुने ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको संयुक्त रूपमा शिलान्यास गर्दैछन् ।
तल्लो अरुण भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभिएन)ले निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा निर्माण गर्दै छ । एसजेभिएनले अहिले संखुवासभामा नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । हाल ७५ प्रतिशत भौतिक प्रगति भएको उक्त आयोजना फेब्रुअरी २०२८ मा सञ्चालनमा ल्याउने तयारी छ । सोही परियोजनाको तल्लो क्षेत्रमा यो क्यास्केड परियोजना बन्नेछ । अरुण तेस्रोको जलविद्युत्बाट निस्कने पानीलाई तल्लो अरुणको बाँध क्षेत्रमा पु¥याएर विद्युत् उत्पादन गरिनेछ ।
परियोजना सञ्चालनमा आएको २५ वर्षपछि नेपाललाई निःशुल्क हस्तान्तरण गर्नुपर्ने सर्त छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको अवसरमा यस विषयमा सम्झौता भएको थियो ।
अहिले प्रधानमन्त्री शाहको भारत भ्रमणको अवसरमा औपचारिक रूपमा परियोजनाको निर्माण सुरु गर्न लागिएको हो । निर्माण सुरु गरेको पाँच वर्षमा परियोजना सञ्चालनमा ल्याउने लक्ष्य छ ।
परियोजनाको अनुमानित लागत ५७ अर्ब ९२ करोड ३७ लाख भारु रहेको छ । त्यसमा सिभिल निर्माणमा ३६ अर्ब ३४ करोड भारु, इलोक्ट्रोमेकानिकलमा १२ अर्ब ३७ करोड भारु, ब्याजमा आठ अर्ब ९९ करोड भारु र वित्तीय शुल्कमा २० करोड भारु खर्च हुनेछ । नेपाली रुपैयाँमा कुल ९२ अर्ब ६७ करोड ७९ लाख लागत अनुमान गरिएको छ ।


























