२८ चैत्र २०८२: आगामी नयाँ बर्ष २०८३ वैशाख १ गतेदेखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने भएको छ। काठमाडौं महानगरपालिकाको पहलमा बेलुका ८ बजेदेखि ११ बजेसम्म रात्रि बस सञ्चालन हुन लागेको हो।
महानगरपालिकाले बसको रुट पनि तय गरेको छ । दक्षिण रुटमा चल्ने एउटा सवारीसाधन ललितपुरको लगनखेलबाट सुरु भएर पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ। अर्को बस बुढानीलकण्ठबाट गंगालाल अस्पताल, महाराजगञ्ज चोक, पानीपोखरी, लाजिम्पाट, जमल,, थापाथली, पुल्चोक हुँदै लगनखेल पुग्नेछ। नयाँ सडक गेट अर्थात् एनएसीअगाडिबाट एउटा बस छुट्नेछ। यसरी ३ वटा विन्दुबाट बस गुडेपछि हरेक बस बिसौनीमा २० मिनेटको अन्तरमा बस आइ पुग्नेछ। यो सडकको एकतर्फी दूरी १६ किलोमिटर पर्दछ।
पूर्वपश्चिम रुटको दूरी २० किलोमिटर छ । यो रुटमा एउटा बस थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्नेछ । अर्को बस विमानस्थलबाट, तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, रविभवन, कलंकी हुँदै थानकोटतर्फ गुड्नेछ। नयाँ सडक गेटअगाडि अर्थात् एनएसीबाट एउटा बस थानकोटतर्फ र अर्को बस विमानस्थल तर्फ छुट्नेछ । यसरी ४ वटा विन्दुबाट ४ वटा बस छुटेपछि हरेक बस बिसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुने महागरपालिकाले जनाएको छ।



























