नेपाल राष्ट्र बैंकले आज बजारबाट एकैपटक १ खर्ब २० अर्ब रुपैयाँ नगद उठाउने भएको छ । बैंकिङ प्रणालीमा निरन्तर निक्षेप थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत शुक्रबार १९ दिनका लागि १ खर्ब २० अर्ब रुपैयाँ नगद प्रशोचन गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूद्वारा संकलित कुल निक्षेपको आकार ७८ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । तर, यसै अवधिमा यता कर्जा लगानी भने ५८ खर्ब ६२ अर्ब रुपैयाँ हाराहारी मात्र हुन सकेको छ ।
समीक्षा अवधिमा जम्मा ७३.६६ प्रतिशत मात्र सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंकहरूसँग १२ खर्बमाथि लगानीयोग्य पुँजी रहेको छ ।
तर, कर्जाको माग कम हुँदा लगानी हुन सकिरहेको छैन, जसको दबाबमा यतिबेला बैंक तथा वित्तीय संस्थाहरूसँगै केन्द्रीय बैंकमा समेत परेको छ ।



























