१५ जेष्ठ काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
गणतन्त्र दिवसकाे अवसरमा शुभकामना दिँदै उनले यस्ताे बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौँ सहिदको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन् ।
उनले नेपालको संविधान कुनै व्यक्ति वा दलको नभई परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको उल्लेख गर्दै संविधानका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्न नहुने बताएका छन् ।
संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सच्याउनुपर्ने आवश्यकता औँल्याउँदै उनले राज्य सञ्चालनमा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य आजको प्रमुख आवश्यकता भएको बताए ।
‘गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो,’ दाहालले जारी गरेकाे शुभकामना सन्देशमा भनिएको छ, ‘समावेशी र पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्दै उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई अझ मजबुत बनाउनुपर्छ ।’
उनले देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र आम नागरिकबीच एकता आवश्यक रहेको उल्लेख गरेका छन् । सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण साझा राष्ट्रिय संकल्प भएको पनि उनले बताए ।
राजनीतिक मतभेद स्वाभाविक भए पनि राष्ट्रिय सरोकारका विषयमा संवाद र सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा जोड दिँदै उनले परिवर्तनका उपलब्धि कमजोर बनाउने कुनै पनि प्रयासप्रति सचेत रहन आग्रह गरेका छन् । सन्देशको अन्त्यमा उनले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट हुन आह्वान गरेका छन् ।




























