काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शिक्षक महासङ्घका प्रतिनिधिसँग छलफल गर्नुभएको छ
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुकी भएको छलफलमा शिक्षक आन्दोलन र समस्या समाधानका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री ओलीले शिक्षा ऐन चाँडै आउने प्रतिबद्धता जनाए पनि शिक्षकहरु आश्वस्त हुन सकेका छैनन् । उनीहरुले आन्दोलनलाई निरन्तरता दिने अडान लिएका छन् ।छलफलमा महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी थिए ।
विद्यालय शिक्षा विधेयक २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर शिक्षकहरुले चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।शैक्षिक हडतालसहित आन्दोलित शिक्षकहरुले शिक्षा मन्त्रालयले आह्वान गरेको वार्तामा बस्न अस्वीकार गर्दै आएका छन् ।
शिक्षकहरुको आन्दोलनले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ भने कक्षा १२ को परीक्षा र एसईईको उत्तरपुस्तिका परीक्षण अनिश्चित बन्दै गएको छ ।
सरकारले संसदको शिक्षा, स्वास्थ्य समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि यही वैशाख १२ गते सङ्घीय संसदको अधिवेशन आह्वान गरेको छ ।
सरकारले संसदको यही अधिवेशनबाट शिक्षा विधेयक पारित हुने भन्दै विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिई आन्दोलन फिर्ता गरी विद्यालय फर्कन आह्वान गर्दै आएको छ । तर शिक्षकहरुले विगतमा भएका सहमतिअनुसार विधेयक पारित भएपछि मात्र विद्यालय फर्कने अडान लिएका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्






























